काठमाडौँ- महिला त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजका सबै खेलमा नेपालमा पराजित भएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा पनि नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित भएको हो।
सिरिजका ६ खेलमा पराजित भएको नेपाल सिरिजमा अङ्कविहीन रह्यो। अन्तिम खेलमा पनि जित हासिल गर्दै थाइल्यान्डले सिरिजको उपाधि जितेको छ।
६ मध्ये ५ खेलमा जित हासिल गरेको थाइल्यान्ड १० अङ्कसहित शीर्ष स्थानमा रहँदै उपाधि जित्न सफल भएको हो। ६ खेलमा ८ अङ्क जोडेको नेदरल्याण्ड्स सिरिजको उपविजेता बन्यो।
आजको खेलमा नेपालले दिएको ८२ रनको लक्ष्य थाइल्यान्डले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको थियो।
महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा पूजा महतो उत्कृष्ट नेपाली खेलाडी घोषित भएकी छन्।
ब्याटिङ र बलिङमा उत्कृष्ट योगदान पुर्याएकी पूजालाई उत्कृष्ट नेपाली खेलाडी घोषणा गरिएको हो।
सिरिजमा उनले ३ विकेट लिनुको साथै १३४ रन बनाइन्। यससँगै पूजाले यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड स्कुटर प्राप्त गरेकी छिन्।
सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पूजा तेस्रो स्थानमा रहिन्। १६६ रन बनाएकी नन्नापत कोनचारोएनकाई पहिलो भइन् भने १६० रन बनाएकी स्टेरे लॉरियन कालिस दोस्रो सर्वाधिक रन बनाउने खेलाडी रहिन्।
यस्तै, प्लेयर अफ द सिरिज थाइल्याण्डकी लेफ्ट आर्म स्पिनर थिपाचा पुथावाङले जितिन्। प्रतियोगितामा उनले १६ विकेट लिइन् । उनले २५ हजार रुपैयाँ प्राप्त गरेकी छन्।
थाइल्याण्डकी ओन्निचा कामचोम्फु प्लेयर अफ द म्याच घोषित भइन्। फाइनलमा थाइल्याण्डलाई जित दिलाउन उनले १५ रन खर्चेर ३ विकेट लिइन्।


