काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ६ मन्त्रीले आज प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सपथ लिए।
सपथ लिनेमा कांग्रेसका तर्फबाट उत्तम जोशी, पुकार महर्जन, मसिना खड्का, रामकृष्ण चित्रकार तथा नेकपा (एकीकृत समाजवादी)को तर्फबाट डा. राजेन्द्रमान श्रेष्ठ र लक्ष्मण लम्साल रहेका छन्।
उत्तम जोशीले स्वास्थ्य, मसिना खड्काले वन तथा वातावरण, पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन्। साथै, डा. राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपक्षी विकास, लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायात र रामकृष्ण चित्रकारले बिनाविभागीय मन्त्रीको सपथ लिए।
यसअघि २५ पुस २०७९ मा नेकपामा ओवादी केन्द्र बागमती प्रदेशका संसदीय दलका नेता जमकट्टेलले प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। तत्कालीन समय सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एमाले)मा मन्त्रीहरु पनि सहभागी थिए।
तर, राप्रपा र एमाले सरकारबाट बाहिरिएपछि रिक्त पदमा नयाँ मन्त्री नियुक्त गरिएको हो। मुख्यमन्त्री जमकट्टेलले गत १० चैतमा विश्वासको मत पाएका थिए। विश्वासको मत प्राप्त गरेलगत्तै गत २६ चैतमा कांग्रेसबाट बहादुरसिंह लामा आर्थिक मामिला तथा कानुनमन्त्री र तीर्थ लामा ऊर्जा तथा जलस्रोत मन्त्रीमा नियुक्त भएका थिए।
सपथ कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री लामा, आन्तरिक मामिला तथा कानुनमन्त्री श्रेष्ठ, भौतिक पूर्वाधार विकासमन्त्री दुलाल, सामाजिक विकासमन्त्री मोक्तानलगायत उपस्थित थिए।


