काठमाडौँ – भ्यालेन्टाइन अर्थात् प्रणय दिवसका दिन शुक्रबार धेरै युवायुवती आफ्ना प्रेमी तथा जोडीसँग रमाए। कतिपयले आजकै दिन प्रेम प्रस्ताव पनि राखे। तर केही युवाले भने फरक शैलीमा प्रेम दिवस मनाएका छन्।
लियो क्लब अफ काठमाडौँ निर्वणामा आबद्ध युवाको समूहले राजधानीको पशुपतिस्थित वृद्धाश्रममा वृद्धवृद्धाको सेवा गरेको हो। लियो क्लब अफ काठमाडौंका सदस्यहरूले वृद्धावृद्धाको हेरचाह गरेर माया साटासाट गरेका हुन्।
लियो क्लब अफ काठमाडौँ निर्वणाको आयोजनामा वृद्धवृद्धालाई राखिँदै आएको आश्रममा सरसफाइ पनि गरिएको छ। यसैगरी युवाहरूले वृद्धहरूको दाह्री-कपाल काटेर उनीहरूलाई नुहाइदिएका छन्।
कार्यक्रमका संयोजक राजन खनालले प्रणय दिवसमा फूल साटासाट गर्ने, डेटिङ जाने, डिस्को र क्याफेमा रमाउनुको सट्टा सामाजिक भावले वृद्धवृद्धाको सेवा गरिएको जानकारी दिए।
उनीहरूले यो कार्यक्रम ८ वर्षदेखि निरन्तर गरिरहेका छन्।


