काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राधिका शाक्यले लेखेको किताब कुनै उपन्यास नभएर सत्यमा आधारित भएको बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित शाक्यको आत्मकथा ‘करुणा’को लोकार्पण समारोहमा उनले किताब केही पनि नमिसिएको २४ क्यारेट सुनजस्तै पुस्तक भएको भन्दै सत्यमाथि कसैले प्रश्न उठाउन नसक्ने बताए।
‘मैले पढ्दा किताब राम्रै लाग्यो। उपन्यास होइन सत्य कुराको लिखत हो। यो कहानी, कथा होइन। यो सत्य हो। यो केही पनि नमिसिएको २४ क्यारेट पुस्तक हो। यसमा केही अन्य कुरा मिसिएको छैन,’ उनले भने, ‘पुस्तकमा भएको सत्यमाथि कसैले प्रश्न उठाउन सक्दैँन्। म ढुक्क छु, साक्षि छु।’
राधिकाका केही माग र इच्छाहरुबारे पनि आफूले पुस्तक पढेर मात्र थाहा पाएको उनको भनाइ थियो। यसको साथै, बाँच्ने मर्ने ठेगान नभएर घरखेत सबै सकाएर हिँडेको मान्छे भएको हुनाले पाल्न सक्दिनँ, पाल्न सक्ने हुति भएको मान्छे होइन भनेर पहिलै प्रष्ट रुपमा भनेको पनि उनले सुनाए।
‘बाच्ने मर्ने ठेगान छैन्, न खेत छ न घर छ। केही पनि छैन। सबै सकाएर हिँडेको मान्छे हुँ। एउटा श्रीमती पाल्छु भनेर धाक दिन पनि सक्दिनँ भनेर भन्ने गरेको थिएँ,’ ओलीको प्रष्टीकरण थियो, ‘त्यही भएर म पाल्न सक्दिनँ। पाल्न सक्ने हुति भएको मान्छे होइन भनेर प्रष्ट भनेको थिएँ।’


