काठमाडौँ- टीकापुर घटनाका दोषी रेशम चौधरीलाई सरकारले रिहा गर्ने प्रक्रिया अघि बढाएको छ। चौधरीलाई गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते राष्ट्रपतिबाट आममाफी दिलाउने प्रक्रिया अगाडि बढाइएको हो।
गृहबाट रेशमलाई माफी दिने गरी प्रस्ताव मन्त्रिपरिषदमा पठाउने तयारी छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गणतन्त्र दिवसका दिन आममाफी दिन सक्छन्।
५० प्रतिशत कैद भुक्ता नगरिसकेका कैदीहरूको सजाय मिनाहा गर्न सक्ने व्यवस्था छ। ५० प्रतिशत कैद काटेका र राम्रो आचरण भएका कैदीलाई माफीका लागि सिफारिस गर्ने सकिने व्यवस्था गरिएको छ।
जेठ २ गते सर्वोच्च अदालतले चौधरीलाई जन्मकैद हुने फैसला सदर गरेको थियो। अदालतको फैसलालाई चुनौती दिँदै सरकारले आममाफीको प्रक्रिया अघि बढाएको हो।
रेशम मुख्य योजनाकार भनिएको टीकापुर घटनामा थरुहट प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरी वरिष्ठ उपरीक्षक एवं तत्कालीन सेती अञ्चल प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५ जना, सशस्त्रका २ र १ नाबालकसहित ८ जनाको मृत्यु भएको थियो।
२०७२ भदौ ७ मा उक्त घटनामा दोषी चौधरीलाई छुटाउन सरकारले कानुन संशोधनको तयारी गरेको थियो। नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रहेकी रेशमपत्नी रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री छन्। सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमल शाहलाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति सत्ता गठबन्धनसँग भागबन्डा नमिलेका कारण सरकारमा सहभागी भने भएको छैन।
दुई दिनअघि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले रेशम चौधरीको रिहाइका लागि आफूहरु लागिपरेको बताएका थिए। जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले यस्तो बताएका थिए।


