काठमाडौँ- उपभोक्ताले दैनिक ५ ग्राम मात्रै खाए हुने नुन दोब्बर अर्थात १० ग्रामसम्म खपत भइरहेकाले शरीरमा आवश्यकता भन्दा बढी आयोडिन हुँदा रोगको जोखिम बढिरहेको विज्ञहरुले बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बालपोषण महाशाखाका सहसचिव लीलाविक्रम थापाले अहिले उपभोक्ताको खानपानशैली परिर्वतन भइरहेकाले नुनको खपत बढेकाले जोखिम पनि बढेको उल्लेख गरेका हुन्।
‘मानव शरीरलाई आवश्यकभन्दा बढी आयोडिन र नुनको मात्रा हुँदा रक्तचापसम्बन्धी रोगको जोखिम बढिरहेको छ,’ उनले भने, ‘सही मात्रामा नुन खानु उचित हुन्छ। तर यसमा नेपाली उपभोक्ता सचेत देखिएका छैनन्।’
राष्ट्रिय उपभोक्ता मञ्जद्वारा काठमाडौँमा आयोजित आयोडिनको नुनको सही प्रयोगबारे जनचेतनामूक अन्तर्क्रिया कार्यक्रममा विज्ञहरुले नुनमा आयोडिनको मात्रा र नुनको खपत बढी भएकाले उत्पन्न जोखिमबारे सरकारले अध्ययन गर्नुपर्नेमा जोड दिए।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका सोमकान्त रिजालले आयोडिनको मात्रा नै प्याकेटमा बढी भएको हो वा उपभोक्ताले बढी नुन खपत गरेका कारण आयोडिन मात्रा शरीरलाई बढी भएर रोगको जोखिम बढाएको हो भन्ने कुरा राज्यले अनुसन्धान गरी उचित परामर्श दिने र त्यसलाई व्यवस्थापन तथा निमयनकारी कदम चाल्नुपर्ने बताए।
‘हामीले बढी नुन खाइरहेका छौँ वा आयोडिनको मात्रा नै नुनमा बढी छ भन्ने कुरा सरकारले प्रष्ट पार्नुपर्छ,’ उनले भने, ‘नुनमा आवश्यक मात्रा कायम नभएको भए उत्पादकहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्यो। उपभोक्ताले बढी मात्रा खाएका भए सचेतना अभियान चलाउनुपर्यो।’
वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक राजन पौडेलले नुनको खपतमा मात्रा आवश्यक रहेको औल्याउँदै भान्सामा पुग्ने नुनको प्याकेटमा के कति आयोडिन छ भन्नेबारे अध्ययन आवश्यक भएको बताए।
संघीय संसद्को उद्योग, श्रम तथा उपभोक्ता हित संरक्षण समितिका सभापति अब्दुल खानले नुनको खपत र आयोडिनको मात्राको बढी भएको विषयमा राज्यका निकाय जिम्मेवार र जवाफदेही हुनुपर्ने बताए।
‘नुनमा सरकारले सेन्टिगेट कायम छ। राज्यको एउटा निकायले मात्रै यसको कारोबार गर्दछ तर उपभोक्ताले आयोडिन बढी खाइरहेका छन् कि त्यसबारेमा सोधखोज गरी आवश्यक कदम चाल्नुपर्दछ,’ उनको भनाइ छ। नुनमा सरकारको एकाधिकार आवश्यक नभएको पनि उनले जोड दिए।
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्याकेटको आयो नुन नै नखान भनेर केहीबाट गरिरएको प्रचार गलत भएकाले राज्यका निकायले आवश्यक सचेतना जगाउनुपर्ने बताए।
सरकारले अर्बौं लगानी नुनमा गरिरहेपनि आयोडिनयुक्त नुनको सम्बन्धमा केही स्वार्थपूर्ण काम गर्ने व्यवसायीहरु केही संस्थाबाट गलत सन्देश फैलिदाँ जनतामा भ्रम पैदा भएको बताए। मञ्चले विभिन्न जिल्लामा सचेतनाका कार्यक्रम गरिरहेको पनि उनले जानकारी दिए।


