दाङ- लुम्बिनी प्रदेशका नवनियुक्त तीन जना मन्त्रीले प्रदेश प्रमुखसमक्ष शपथ लिएका छन्। नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराएका हुन्।
नेपाली कांग्रेसका राजुप्रसाद खनाल, जनमत पार्टीका चन्द्रकेश गुप्ता र जनता समाजवादी पार्टीका भण्डारी लाल अहिरले मन्त्रीका रूपमा शपथ लिएका हुन्। खनालले स्वास्थ्य, गुप्ताले सामाजिक विकास र अहिरले कृषि तथा भूमि व्यवस्थामन्त्रीको जिम्मेवारी पाएका छन्।
गत वैशाख १५ गते नियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्। वैशाख १५ गते नियुक्त भएका बिना विभागीयमन्त्रीलाई पनि मुख्यमन्त्री चौधरीले आज जिम्मेवारी तोकिदिएका छन्।
मुख्यमन्त्री चौधरीले लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेलाई आन्तरिक मामिला, कानुन तथा सहकारी र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारी तोकेका छन्। सोही दिन नियुक्त नेकपा (माओवादी केन्द्र)का धनबहादुर मास्कीलाई यसअघि नै आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको थियो।
मन्त्रालय भागबन्डामा असहमति जनाउँदै नेकपा माओवादी केन्द्रबाट भने सोमबार कसैलाई पनि मन्त्री बनाएन। यसअघि माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसी र रोल्पाका दीपेन्द्र पुनलाई मन्त्री बनाउन सिफारिस गरिएको थियो।
यसअघि लिला गिरी नेतृत्वको सरकारमा तीन मन्त्रालय पाएकाले अहिले आफूहरूले रोजेका तीन मन्त्रालय पाउनुपर्ने अडानमा माओवादी छ।
माओवादीमा यसअघि समेत सरकारमा सहभागी बनाएर पठाइएकी केसीले रोजेको मन्त्रालय नपाउँदा विवाद सुरु भएको बताइएको छ। केसीले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गर्दै आएकी थिइन्।
माओवादीबाट विद्रोह गरेर स्वतन्त्र रूपमा चुनाव जितेका दीपेन्द्र पुन सिजललाई मन्त्री बनाउन कांग्रेस अनिच्छुक छ। गठबन्धनको मर्मविपरीत उम्मेदवार बन्दा कांग्रेसका लुम्बनी अध्यक्ष अमरसिंह पुनलाई पराजित भएका थिए। त्यसपछि कांग्रेस असन्तुष्ट छ।
आफूले चाहेको मन्त्रालय नपाएपछि तत्काल मन्त्रिपरिषद् विस्तारमा सहभागी नभएको माओवादी केन्द्रको भनाइ छ।
कांग्रेसका चौधरी नेतृत्व सरकारलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी)का १/१ र स्वतन्त्र एक सांसद गरी ५३ जना प्रदेशसभा सदस्यको समर्थन छ।
मुख्य न्यायाधिवक्ताको शपथ
लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्त वरिष्ठ अधिवक्ता प्राध्यापक डा बुद्धबहादुर थापाले पनि आज पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले थापालाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए।
नवनियुक्त मुख्य न्यायाधिवक्ता थापालाई आज उच्च अदालत तुलसीपुरका कामु मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्दले प्रदेश प्रमुख कार्यालयमा आयोजित शपथग्रहण समारोहमा प्रदेश प्रमुखको उपस्थितिमा पद तथा गोपनीयताको शपथ गराइएको हो।
बुटवल बहुमुखी क्याम्पसमा लामो समय राजनीतिशास्त्र अध्यापन गराएका थापा नेपाल प्राध्यापक सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष हुन्। राजनीतिशास्त्रमा विद्यावारिधि गरेका थापाले कानुनमा स्नातक गरेका छन्।


