पोखरा- देशभरका मुख्यमन्त्रीहरुको सम्मेलन गण्डकी प्रदेशको पोखरामा हुने भएको छ। प्रदेशले गरेका उपलब्धि र अधिकारका विषयमा छ्लफल गर्न जेठ १० गते बुधबार सातै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन हुन लागेको गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन्।
‘कुन प्रदेशले के काम गरिरहेका छन्, प्रदेशले गरेका कार्य तथा अनुभव साटफेर गर्न र सबै प्रदेशको साझा धारणा बनाउन सम्मेलन हुन लागेको हो,’ मन्त्री अर्यालले भनिन्। सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन्। सम्मेलन पोखरा ग्राण्डमा बिहान ८ बजे हुने गण्डकी सरकारले जनाएको छ।
पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा २०७५ भदौ २१ र २२ गते पोखरामा मुख्यमन्त्रीहरुको भेला भएको थियो। तत्कालीन मुख्यमन्त्री गुरुङको नेतृत्वमा भएको भेलाले संघीय सरकारसँग अधिकार खोसेर भए पनि लिनुपर्ने भन्दै उदघोष गर्दै ९ बुँदे घोषणापत्र जारी गरेको थियो।


