काठमाडौँ- विश्व फुटबलका लिजेन्ड जियानलुगी बुफोन नेपालप्रति सधैं उत्सुक रहेको बताएका छन्। केपी ओली कपको फाइनल हेर्न आएका बुफोनले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा आफू नेपाल पहिलो पल्ट आएको बताएका हुन्।
सधैं नै नेपाल आउने चाहना रहेको उल्लेख गर्दै उनले भने, ‘नेपाल पहिलोपल्ट आएको हुँ। फेरि फर्केर आउनेछु र घुम्नेछु।’ नेपालको झण्डा फरक भएका कारण पनि आफूमा उत्सुकता जागेको उनको भनाइ छ।
आइतबार नेपाल आएका उनी सोमबार केपी ओली कपको फाइनल हेर्नेछन्। उनले भने, ‘फाइनलमा राम्रो म्याच हेर्न चाहन्छु।’ केपी ओली कप फुटबलको फाइनलमा मच्छिन्द्र र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।
बुफोनले नेपालले पनि विश्वकप पुटबल खेल्न सक्ने बताए। ‘नेपाल पनि विश्वकप खेल्न सक्छ तर त्यसका लागि धेरै मेहनत र लगानी चाहिन्छ,’ उनले भने।
संसारका महान गोलरक्षकमध्ये एक रहेका बुफोनले व्यावसायिक फुटबलमा ११ सयभन्दा बढी खेल खेलेका छन्। तीमध्ये सबैभन्दा बढी सिरी ‘ए’ मै उनले आफ्नो उत्कृष्ट गोलकिपिङ प्रदर्शन गरेका छन्। सन् १९९५ मा उनले पार्माबाट सिरी ‘ए’ डेब्यु गरेका थिए भने सिनियर करियरको अन्त्य पनि उनले पार्माबाटै गरेका छन्।
सन् २०२१ देखि २०२३ सम्म ४३ म्याच खेले। क्लबतर्फ उनले ७५४ म्याच खेले। त्यस्तै अन्तर्राष्ट्रियतर्फ सन् १९९३ मा यू-१६ टिमबाट इटालीका लागि डेब्यु गरेका उनी २०१८ सम्म देशका लागि खेले।
सन् १९९८, २००२, २००६, २०१० र २०१४ को विश्वकप प्रतियोगिताका इटालीका सदस्य थिए उनी। सन् १९९८ को विश्वकपमा भने उनी बेन्चमै थिए। सन् २००६ मा इटाली विश्वविजेता बन्दा बुफोनको उत्कृष्ट प्रदर्शन रहेको थियो।











