काठमाडौं– नक्कली शरणार्थी प्रकरणबारे प्रतिनिधिसभामा भइरहेको बजेट बहसमा भाग लिँदै एमाले अध्यक्ष केपी ओलीले शून्यावस्थादेखि नै यसको छानबिन गर्नुपर्ने बताए। उनले यो प्रकरणमा एमालेका नेताहरू मिसिएको भए प्रमाणसहित आउन चुनौतीसमेत दिए। तर, सोमबार नक्कली शरणार्थी प्रकरणबारे छानबिन गरी प्रहरीले सरकारी वकिललाई बुझाएको कागजातमा ओलीका स्वकीय सचिव राजेश वज्राचार्यको नामसमेत मुछिएको छ।
नक्कली शरणार्थी प्रकरणलाई लिएर हिजोको प्रतिनिधिसभा बैठकमा नेमकिपा सांसद प्रेम सुवालले उठाएको विषय उक्त प्रतिवेदनमा मेल खान्छ। सुवालले नक्कली शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्रीद्वयलाई केरकार गरिएपछि उनीहरूको सहभागिता पुष्टि भएकाले अब पालो शेरबहादुर देउवा र केपी ओलीको हुनुपर्ने माग गरे। नक्कली शरणार्थी प्रकरणमा ओली र देउवाको संलग्नता रहेको उनको दाबी थियो।
सुवालले नक्कली शरणार्थी प्रकरण छानबिन अपूरो हुने दाबी गरिरहेका बेला प्रहरीले सरकारलाई बुझाएको प्रतिवेदनले पनि त्यसकै संकेत गरेको छ। प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलसहित ५ जनाविरुद्ध पनि पूरक अभियोजन लैजान बाटो खुला गरे पनि घटनामा संलग्न भनिएकाहरू कांग्रेस सभापति देउवापत्नी आरजु देउवा, खाणपत्नी मञ्जु, एमाले नेता बादललगायत विषयमा केही बोलेको देखिन्न।
प्रहरी प्रतिवेदनमा एमाले उपाध्यक्ष बादल, उनकी पत्नी नैनकला थापा, पूर्वगृहसचिव एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई, एमाले पूर्वप्रदेश सांसद अजयक्रान्ति शाक्य र अध्यक्ष ओलीका स्वकीय सचिव राजेश वज्राचार्यको समेत नामसमेत उल्लेख गरिएकाले नक्कली शरणार्थी प्रकरणको धन्धा मिलीजुली गरेर करोडौंको आर्थिक चलखेल भएको बुझ्न कठिन छैन।
शरणार्थी प्रकरणबारेको घटना बादल गृहमन्त्री र हाल अख्तियार प्रमुख राई गृहसचिव हुँदा भएको थियो। उनीहरूले नै शरणार्थीको दीर्घकालीन व्यवस्थापन गर्न भन्दै कार्यदल गठन गरेका थिए। बादल गृहमन्त्री भएकै बेला तत्कालीन गृहसचिव राईको संलग्नतामा शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गिरोहले नेपालीबाट करोडौं रकम उठाउन थालेको प्रहरी प्रतिवेदनले पुष्टि गरेको छ।
हाल अख्तियारका प्रमुख आयुक्त रहेका तत्कालीन गृहसचिव राईलाई समेत रकम दिएको पक्राउ परेकाहरूले बयानमा भनेका छन्। सोही घटनामा बादलका छोरा प्रतीक फरार छन्। उनलाई भने प्रहरीले प्रतिवादी बनाउन राय दिएको छ। बादलपत्नी नैनकलाले समेत रकम बुझेको बिचौलियाले बयानमा बताएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।
नक्कली शरणार्थी प्रकरणमा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्। उनका छोरा निरज पनि यो प्रकरणमा संलग्न देखिएको प्रहरीको प्रतिवेदनले औंल्याएको छ। प्रहरीले उनलाई पनि फरारको सूचीमा राखेको छ।
तर देउवापत्नी आरजु र बालकृष्णपत्नी मञ्जु खाणको नाम भने प्रतिवेदनमा उल्लेख छैन। जबकि यो घटनामा पक्राउ परेकाले आरजु र मञ्जुलाई ठूलो रकमको थैली बुझाएको प्रहरीसमक्ष साविती बयान दिएका थिए। त्यसकारण यो प्रतिवेदन लेखनमा ठूलै राजनीतिक गिरोहको संलग्नता देखिए पनि प्रहरीलाई ‘माथि’बाटै दबाब दिइएकाले संदिग्धलाई नमुछिएको हुन सक्छ।
प्रहरीले ५७ दिन लामो अनुसन्धानपछि नक्कली शरणार्थी प्रकरणमा रायसहित सोमबार प्रतिवेदन बुझाएको हो। सोमबार जिल्ला सरकारी वकिल कार्याललय काठमाडौंमा बुझाएको प्रतिवेदनमा ३० जनालाई प्रतिवादी बनाउन प्रहरीले राय दिएको छ। तीमध्ये १६ जना पक्राउ परेका छन् भने १४ फरार छन्।
अरु तीन जनाको भने नाम उल्लेख गरिए पनि ठेगाना नखुलेकाले पछि थप अनुसन्धान हुने भएको छ। बेचन झा, रमा थापा र गोकुल थापाविरुद्ध थप अनुसन्धान गरिने भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रतिवेदन बुझाएसँगै सरकारी वकिल कार्यालयले एक–दुई दिनभित्रै जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ।
अनुसन्धान प्रतिवेदन आइसकेकाले अध्ययन गरिरहेको र अभियोजनको तयारी थालिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले जानकारी दिए।
हाल यो मुद्दामा १६ जना पक्राउ परेका छन्, जसमा कांग्रेस, एमाले नेताहरूदेखि सरकारका सचिवसमेत संलग्न रहेको देखिएको छ। अन्य १७ जना भने फरार छन्।
नक्कली शरणार्थी धन्धा चलाउनेविरुद्ध प्रहरीले राज्यविरुद्धको कसुरसहित ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र सार्वजनिक पद धारण गरेकाको हकमा भ्रष्टाचारको कसुरमा समेत मुद्दा चलाउन सुझाएको छ।


