काठमाडौँ- नैतिकता, सदाचार, अहिंसा र विश्व शान्तिका लागि प्रारम्भ भएको अणुव्रत आन्दोलन स्थापनाको ७७ वर्ष पूरा भएको अवसरमा विचारगोष्ठी सम्पन्न भएको छ। नेपाल अणुव्रत समितिले काठमाडौँको कमलपोखरीस्थित जैन भवनमा गोष्ठी आयोजना गरेको हो।
गोष्ठीमा सहभागी हुँदै प्रतिनिधिसभा सदस्य प्रतिमा गौतमले जैन समुदायले मान्दै आएको अणुव्रत अभियान सबै मानव जातिका लागि अनुकरणीय रहेको बताइन्।
जैन श्वेताम्बर तेरापन्थ धर्मसंघका आचार्य श्रीतुलसीले ७७ वर्ष अगाडि अणुव्रत आन्दोलनको शुभारम्भ गरेका थिए। त्यसयता जैन समुदायले नैतिकता, सदाचार, अहिंसा र विश्व शान्तिका लागि एउटा आन्दोलनकै रुपमा उक्त अभियानलाई अगाडि बढाउँदै आएका छन्।
विश्व मानव समुदायले नै अनुसरण गर्न योग्य उक्त अभियानबाट स्थापित मान्यताहरूलाई प्रचार प्रसार गर्न आवश्यक रहेको गौतमको भनाइ थियो। ‘नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समुदाय भएको देश हो,’ उनले भनिन्, ‘अणुव्रतको सन्देश सबै धार्मिक, सांस्कृतिक समुदायको सामाजिक जीवनका लागि त्यतिकै उपयोगी छ।’
अहिले जैन धर्मावलम्बी मारवाडी समुदाय अणुव्रतमा विश्वास राख्दछन्। उनीहरूले वध गर्दैनन् र पूर्ण शाकाहारी जीवन बाँच्दछन्। अणुव्रत आन्दोलनकै मार्गमा अहिले मारवाडी समुदाय अघि बढिरहेको नेपाल अणुव्रत समितिका अध्यक्ष फूलकुमार लालवानीले बताए।
‘नैतिकता, सदाचार र अहिंसा, शाकाहारी जीवनशैली र विश्व शान्तिका लागि कामना गर्नु अणुव्रत आन्दोलनको मान्यता हो,’ उनले भने। उनले अहिले पनि उक्त अभियानकै अनुयायीकारुपमा जैन समुदायले पूर्ण शाकाहारी जीवन बाँच्दै आएको उनले बताए। कार्यक्रममा अणुव्रत विश्व भारतीका नेपाल प्रभारी ज्योतिकुमार गेगानीले अणुव्रत आन्दोलन र यसको सान्दर्भिकताका विषयमा स्पष्ट पारे।
कार्यक्रममा वरिष्ठ उद्योगपति, समाजसेवी, जैन समाज रत्न एवम् अणुव्रत समितिका प्रमुख सल्लाहकार किशनलाल दुगड, नेपालस्तरीय जैन श्वेताम्बर तेरापन्थी सभाका अध्यक्ष फेनेशकुमार नौला, नेपाल जैन परिषद्का अध्यक्ष विमल चन्द राखेचा, मारवाडी सेवा समिति नेपालका अध्यक्ष प्रमोद चौधरी, जैन श्वेताम्बर तेरापन्थी सभा काठमाडौँका अध्यक्ष सुभाग मल जम्मड तथा कार्यक्रम संयोजक चन्दन गैलखाले धारणा राखेका थिए।


