काठमाडौं(जेठ ८) – सिन्धुपाल्चोककी अस्मिता भुजेल र दोलखाका विकेश घिमिरेले दोस्रो बाग्मती प्रदेश खेलकुदको एथलेटिक्सर्फ १५०० मिटर दौडमा स्वर्ण जितेका छन्।
हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा सोमबारदेखि सुरु भएको प्रतिस्पर्धामा अस्मिता महिलातर्फ र विकेश पुरुषतर्फ स्वर्ण विजेता हुन्। विकेशले ४ मिनेट ३३ सेकेन्ड समय लगाए। सो विधामा नुवाकोटको दिनेश राईले रजत र काठमाडौंका पवनकुमार साहले कांस्य पदक जिते। महिलामा स्वर्ण विजेता अस्मिताले पाँच मिनेट ३२ सेकेन्ड समय लगाइन्। रामेछापकी भगवती खड्काले रजत र दोलखाकी सोनी घोतानेले कांस्य जिते। हाइजम्पमा दोलखाकी रोजिना कार्कीलेस्वर्ण प्राप्त गरिन्। उनी १ दशमलव ३१ मिटर उचाई माथि उफ्रिन्।
चितवनकी करुणा बोटले रजत र काभ्रेकी कविता गौतमले कांस्य पदक पाए। यसै विधामा पुरुषतर्फ चितवनका अविनाश सुनारले स्वर्ण जिते। उनी १ दशमलव ६९ मिटर उचाई उफ्रिए। सिन्धुलीका रोशनकुमार दनुवार रजत र चितवनका समीर चौधरी कांस्य पदक जित्न सफल भए। डिस्कस थ्रोमा महिलातर्फ रामेछापकी अनिता कार्कीले २१ दशमलव ९८ मिटर पर फ्याक्दै स्वर्ण जिते। दोलखाकी ममता सुनुवार रजत र नुवाकोटकी रोजिना राई कांस्य पदक जित्न सफल भए।
पुरुषतर्फ भने रामेछापका रामकुमार माझीले स्वर्ण पदक प्राप्त गरे। उनले २७ दशमलव ७० मिटर पर फ्याके। चितवनका ललित राउत रजत र दीपेश महतो कांस्य जित्न सफल भए।
