राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरवलाई बढाएको बताएका छन्। आइसिसी लिग टुमा तेस्रो स्थान प्राप्त गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रबार शितलनिवासमा बोलाएर बधाई दिँदै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।
सरकारले खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नु नहुने उनको भनाई थियो। उनले नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको भन्दै देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्ने बताए।
‘राष्ट्रको इज्जत र गौरवलाई बढाएर तपाईंहरू विश्वकपको यात्राका लागि जाँदै हुनुहुन्छ। मैले हिजो इन्ट्रेस दिएर हेरेँ असाध्यै राम्रो खेल थियो। दर्शकहरू पनि धेरै प्रफुल्ल हुनुहुन्थ्यो। पूर्वाधारको कमी रहेको छ,’ उनले भने, ‘तर, पनि यस्तो सफलता प्राप्त गर्नुभएको छ, यो ठूलो कुरा हो। यो क्षेत्रलाई पक्कै पनि राज्यले उपेक्षित क्षेत्रमा राख्नु हुँदैन। देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्छ, खेलाडीहरूको मनोबल बढाउन सरकारले लाग्नुपर्छ।’
