रुपन्देही- धनकुटाका स्रष्टा रोशन परियारलाई रमेश स्मृति सम्मान-२०८१ प्रदान गरिने भएको छ। साहित्यकार रमेश हरिलठ्ठकको स्मृतिमा स्थापना गरिएको पुरस्कार परियारलाई प्रदान गर्ने निर्णय भएको रमेश स्मृति कोष, नेपालले जानकारी दिएको छ।
कोषले हरेक वर्ष नेपाली भाषा-साहित्यमा सक्रिय साहित्यकारलाई सम्मान गर्दै आइरहेको छ। छनौट समितिले परियारलाई सम्मान प्रदान गर्ने निर्णय लिएको संयोजक दीप मिलनले जानकारी दिए।
कोषले यसै वर्षदेखि कोषले प्रोत्साहन पुरस्कार पनि प्रदान गर्ने निर्णय लिएको छ। यस वर्षको प्रोत्साहन पुरस्कार देवदहकी समज्ञा अधिकारीलाई प्रदान गर्ने निर्णय भएको संयोजक मिलनले जानकारी दिए।
साहित्यिक तथा सामाजिक संस्था उज्यालो लालटिन प्रतिष्ठानको संस्थापक सदस्य समज्ञा अहिले सोही संस्थामा अध्यक्ष छिन्। समाजसेवा, साहित्य र युवा सशक्तीकरणका मुद्दामा सक्रिय समज्ञालाई अझ प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले पुरस्कार प्रदान गर्ने निर्णय भएको कोषको भनाइ छ।
सम्मान तथा पुरस्कार वितरणको मिति र स्थान भने तय हुन बाँकी रहेको मिलनको भनाइ छ।
हरिलठ्ठक आधुनिक गजल लेखनमा सक्रिय थिए। २०३७ सालमा जन्मिएका उनको २३ वर्षको अल्पायुमा निधन भएको थियो। हरिलट्ठकको ४४औँ जन्मजयन्तीका अवसरमा पुरस्कार प्राप्त गर्ने साहित्यकारको नाम कोषले सार्वजनिक गरेको हो।

