काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमासम्बन्धी विषयलाई कूटनीतिक पहलबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। आगामी आवको नीति तथा कार्यक्रमका विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ पेस गर्दै प्रधानमन्त्री प्रचण्डले मंगलबार यस्तो बताएका हुन्।
‘सीमासम्बन्धी विषयलाई ऐतिहासिक सन्धि नक्सा तथ्य र प्रमाणका आधारमा कुटनीतिक पहलबाट समाधान गर्न सरकार दृढ र प्रतिवद्ध रहेको जानकारी पनि सदस्यहरुलाई गराउन चाहन्छु,’ उनले भने।
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो भन्ने कुरामा सरकार प्रष्ट रहेको समेत उनको भनाइ छ। ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार बडो प्रष्ट छ,’ जवाफका क्रममा दाहालले थपे, ‘देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाभिमान र सीमानाको सुरक्षाका लागि सरकार सचेत र प्रतिबद्ध छ।’
दाहालले छिमेकी देश भारत वा चीन कुन देश पहिलो भ्रमण गर्ने भन्ने बाध्यता नरहेकोसमेत बताए। ‘प्रधानमन्त्रीले पहिले कताको भ्रमण गर्ने भन्ने बाध्यता छैन। समय परिस्थिति अनुसार गर्ने हो। पहिलोपटक प्रधानमन्त्री हुँदा उत्तरबाट गरेको थिएँ,’ उनले भने।


