काठमाडौँ– नक्कली शरणार्थी प्रकरणमा संलग्न भएको आरोप लागेर पक्राउ परेका हाइ प्रोफाइल व्यक्तिले इन्कारी बयान दिएका छन्। नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर तेस्रो देश पठाउने भनेर आश्वासन दिएर गरिएको ठगीमा संलग्न भएको आरोप लागेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणले इन्कारी बयान दिएका हुन्।
रायमाझीले दिएको बयानमा गृह मन्त्रालयमा विवाद भएको कुरा उल्लेख गरेका छन्। ‘२०७७ पुस १६ गते म आफ्नै कामविशेषले गृह मन्त्रालय गएको बखत स्वकीय सचिवको कार्यालयमा बसिरहेको अवस्थामा इन्द्रजित राईको कार्यकक्षमा छलफल सुने,’ उनले भनेका छन्, ‘ठूलो स्वरमा आवाज आएको हुँदा म पनि कार्यकक्षमा छिरेँ, त्यहाँ जाँदा इन्द्रजित राई, सानु भण्डारी र केशवप्रसाद दुलालबीच लेनदेन सम्बन्धी विवाद भएको सुनेको हुँ।’
यो प्रकरणमा आरोपितहरू पक्राउ पर्न थालेपछि पूर्वगृहमन्त्री बालकृष्ण खाणले भने मोबाइलको फ्याक्ट्री रिसेट गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। उक्त विषयमा पनि प्रहरीले प्रश्न गर्दा आफूलाई थाहा नभएको बयान दिएका छन्। ‘मेरो मोबाइलको फ्याक्ट्री रिसेट कसरी भयो मलाई थाहा छैन,’ उनको बयानमा उल्लेख छ। नक्कली शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको उनको दाबी छ।
रायमाझीको बयान
गृह मन्त्रालयमै विवाद भएको सुनेको हुँ : टोपबहादुर रायमाझी
शरणार्थी प्रकरणमा मुछिएका केशवप्रसाद दुलालसँग सुजाता कोइरालाको घरमा जाने आउने क्रममा चिनजान भएको हो। सानु भण्डारी मेरो छिमेकी भएको हुँदा चिनजान भएको हो। सचिव टेकनारायण पाण्डे मेरो जिल्लावासी भएको र नेपाल सरकारको सचिव भएको हुँदा चिनजान भएको हो। इन्द्रजित राईसँग पार्टीको कामको सिलसिलामा चिनजान भएको हो। पूर्वमन्त्री बालकृष्ण खाँणलाई विद्यार्थी राजनीति गर्ने क्रममा चिनेको हुँ।
भुटानी शरणार्थी सम्बन्धी समस्याको स्थायी र दीर्घकालीन समाधानको उपायहरू पहिल्याउन बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन भएकोसम्म जानकारी छ, त्यो बाहेक अन्य कुरा मलाई जानकारी भएन। मैले इन्द्रजित राईलाई चिनाइदिएको भन्ने कुरा सरासर गलत हो।
इन्द्रजित राई र प्रतिवादी सानु भण्डारीबीचको लेनदेन विषयमा उहाँहरुले जान्ने कुरा हो, मलाई जानकरी छैन। उहाँले मलाई दिएको भनेको कुनै रकम लिएको छैन, सन्दीप रायमाझी (छोरा)को खातामा जम्मा गरेको रकम सम्बन्धमा उनैले नै स्पष्ट पार्ने छन्।
सानु भण्डारीको घरबाट बरामद भएको डायरीमा मेरो नाम लेखी पटक पटक मलाई रकम दिएको भनेको कुरामा सत्यता छैन। उनीहरुले के कुन प्रयोजनको लागि उक्त कुरा लेखेका हुन् मलाई जानकारी भएन, सो रकम मैले लिएको छैन।
मेरो छोरा सन्दीप रायमाझीसँग कम्पनीमा साझेदारीको कुरा सन्दीपले दिएको बयानबाट नै देखिन्छ। मलाई रकम दिएको भन्ने जति पनि विवरणहरु छन्, त्यसमा कुनै आधार र सत्यता छैन, उनले ठूलो रकमको चेक काटेर आफ्नै घरमा राखेको सवाल होस् वा आफ्नो डायरीमा विभिन्न प्रकारका रकमहरु के–कुन प्रयोजनका लागि लेखेका हुन मलाई जानकारी भएन।
केशवप्रसाद दुलाल र सानु भण्डारीले हामीहरुको भेटघाट नभएको धेरै समय भयो। व्यावसायिक साथीहरुले हेलिको व्यवस्था गरेका छन्, गोसाईंकुण्ड गई फ्रेस भएर आउनुपर्यो भनी मलाई केशवप्रसाद दुलालले आग्रह गरेको र मैले समय छैन भन्दा उनीहरुले धेरै समय लाग्दैन जान आउन ३० मिनेट, १५ मिनेट घुम्न गरी जम्मा ४५ मिनेट मात्र हो भनेको हुँदा म सहमत भई गोसाईंकुण्ड गई फोटो खिचाई फर्किएका हौं।
इन्द्रजित राई मैले पहिलेदेखि चिनेका व्यक्ति हुन्। कामविशेषले गृह मन्त्रालय जाँदा मैले प्रायः इन्द्रजित राईलाई नै बढी भेट्ने गरेको थिएँ। २०७७ पुस १६ गते म आफ्नै कामविशेषले गृह मन्त्रालय गएको बखत स्वकीय सचिवको कार्यालयमा बसिरहेको अवस्थामा इन्द्रजित राईको कार्यकक्षमा छलफल सुनेँ। ठूलो स्वरमा आवाज आएको हुँदा म पनि कार्यकक्षमा छिरेँ, त्यहाँ जाँदा इन्द्रजित राई, सानु भण्डारी र केशवप्रसाद दुलालबीच लेनदेन सम्बन्धी विवाद भएको सुनेको हुँ।
कार्यकक्षबाट बाहिर आएपछि सानु भण्डारी र केशवप्रसाद दुलाललाई ‘डुप्लिकेट काम गरेका त छैनौ?’ भनी सोध्दा निजहरुले हामी पूर्वका मानिस हौं, शरणार्थीका लागि पनि हामीले डुप्लिकेट काम गर्छौँ होला र भनी प्रतिप्रश्न गरेका थिए। इन्द्रजित राईलाई सानु भण्डारीसँग मैले परिचय गराइदिएको भन्ने कुरा सत्य होइन।
भुटानी शरणार्थीको विषयमा कार्यदल बनाउनेसम्मको कुरा मलाई थाहा छ, उक्त समितिका संयोजक बालकृष्ण पन्थी मेरो छिमेकी जिल्ला र सहसचिव समेत भएको हुँदा चिनजान थियो। मैले यो विषयमा सुरुदेखि नै आफ्नो धारणा स्पष्ट राख्दै आएको छु, बाँकी रहेका पीडित भुटानी शरणार्थीहरुको दीर्घकालीन समाधान हुनुपर्दछ भन्ने मेरो धारणा रही आएको छ।
गैरभुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कामले नेपालको अन्तर्राष्ट्रिय छवि उपर अपमान हुन्छ भन्ने मलाई लाग्छ।
मेरो छोरा पक्राउ परी हत्कडी लगाएको खबर सुनेकोले आफूलाई पनि पक्राउ गरी हत्कडी लगाउँछन् भन्ने लागेकोले मन बिग्रिएको हुँदा केही अवधि सम्पर्कविहीन भएको थिएँ, सोही क्रममा प्रहरीले खोजतलास गर्ने क्रममा पक्राउ परेको हो। कदम रोकिएको मात्र हो, आफैं सम्पर्कमा आउने क्रममा थिएँ।
खाणको बयान
मेरो मोबाइल फ्याक्ट्री रिसेट कसरी भयो मलाई थाहा भएन : बालकृष्ण खाण
प्रतिवादीहरूमध्ये टेकनारायण पाण्डे नेपाल सरकारको सचिव भएको कारण चिनेको हुँ, नरेन्द्र केसी मेरो निजी सचिव थिए, टोपबहादुर रायमाझी संविधान सभा सदस्य, प्रतिनिधि सभा सदस्य र पूर्वमन्त्री समेत भएकोले चिनजान छ।
मैले मिति २०७८ असार २९ गतेदेखि पुससम्म गृहमन्त्रीको रूपमा काम काज गरेको हुँ। म गृहमन्त्री संविधान र कानूनको अधिनमा रही देशमा शान्ति सुरक्षा अमनचयन कायम गर्नेलगायत मन्त्रीले गर्नुपर्ने काम इमान्दारीपूर्वका सम्पादन गरेको हुँ। बरामद कालो रङको डायरीमा लेखिएको अंक र अक्षर मेरो हो। सोबाहेक अन्य २ वटा कालो रङ, एउटा खैरो रङको डायरी र सम्पत्ति विवरण भरिएका पाना ३८ समेत मेरो हो।
भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन बनेको बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदलले पेश गरेको प्रतिवेदन सोही कार्यदलका साथै सम्बन्धित निकाय र महाशाखालाई जानकारी होला।
गृह मन्त्रालयको च.न.८४३ मिति २०८०/१/२६ गतेको पत्रसाथ प्राप्त कागजातहरू हेर्दा मिति २०७६।०७।०१ मा समितिले प्रस्तुत गरेको उपरोक्त प्रतिवेदनमा संयोजक बालकृष्ण पन्थी, विज्ञ गणेशबहादुर केसी रहेको २ जनाले दस्तखत गरेको प्रतिवेदनमा तत्कालीन मन्त्री र सचिवको नाममा प्रतिवेदनको अध्ययन तथा कार्यान्यवन अगाडि बढाउन हुन भनी तोक लगाइएको देखिन्छ।
भुटानी शरणार्थी समस्या स्थायी समाधानका उपायहरू पहिल्याउन गठित पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वको कार्यदलले दिएको प्रतिवेदन तत्कालीन गृह मन्त्रीको पालामा लिने कार्य भएको, भुटानी शरणार्थी समस्या स्थायी सामाधानका उपायहरू पहिल्याउन गठित कार्यदलले दिएको प्रतिवेदन उपर थप छलफल भएपश्चात गरिएका निर्णयहरू कार्यान्वयनका लागि मन्त्रिपरिषद समक्ष प्रस्ताव पेश गर्न मबाट मिति २०७८/०८/१२ मा स्वीकृति दिई सो प्रस्ताव मन्त्रिपरिषदमा पेश भएको हो। नेपाल सरकार कार्य सम्पादन नियामावलीअनुसार सम्बन्धित विभागले प्रस्ताव उठाउने, सचिवले प्रस्ताव प्रस्तुत गर्छन् मन्त्रीले सदर गर्ने र मन्त्रिपरिषदले प्रस्ताव पारित गर्ने गरिएको छ।
भुटानी शरणार्थीसम्बन्धी समस्या समाधानको उपायहरूको सम्बन्धमा प्रस्ताव मन्त्रिपरिषदमा पेस भयो। कागजातहरू के-के पेस भए मलाई अहिले सम्झना भएन। नेपाल सरकार कार्य सम्पादन नियामावलीले मन्त्री, सचिव र अन्य पदाधिकारीहरूको कार्य क्षेत्र तोकेको छ। मन्त्रीले आफ्ना केही अधिकार सचिवलाई समेत प्रत्यायोजन गरिएको हुन्छ।
तसर्थ मन्त्रालयको अभिलेखहरूको सुरक्षा गर्ने जिम्मेवारीसमेत तोकिएको छ, एउटै प्रतिवेदनको एउटै विषयमा फरक व्यहोरा हुन सक्तैन। मन्त्रालयको कागज पत्र, प्रतिवेदन, सम्झौतालगायत विभिन्न अभिलेख राख्ने निकाय छुट्याइएको हुन्छ, यो मन्त्रालयको प्रशासनिक जिम्मेवारी हो।
पूर्ववर्ती सरकारले भुटानी शरणार्थी समस्या स्थायी समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलको प्रतिवेदन तत्कालीन गृहमन्त्रीले बुझी कार्यान्वयनका लागी अगाडि बढाएको अवस्थामा भुटानी शरणार्थीसम्बन्धी समस्या र समाधानको उपाय सम्बन्धमा मन्त्रिपरिषदमा उक्त समयमा नै प्रस्ताव प्रस्तुत गरेको हो।
उक्त प्रस्तावलाई नै निरन्तरता दिएको हो। म गृहमन्त्री भएपछि देशमा शान्ति, सुव्यवस्था र अमनचयनका लागि गृह मन्त्रालयका उच्च पदाधिकारी र जिम्मेवार अधिकृतहरूलाई निर्देशन दिँदै आएको सर्वविदितै छ। यसै सन्दर्भमा भुटानी वा तिब्बती कुनै अवान्छनीय गतिविधि नगरून् भनी त्यसका लागि पनि निर्देशन दिँदै आएको हुँ।
शरणार्थीहरूलाई मानवीय प्रबन्ध गर्नु राज्यको दायित्व हो।
पछिल्लो पटक भुटानी शरणार्थीलाई अन्तर्राष्ट्रिय निकायले सहयोग रोकेको अवस्थामा जीवन असहज भएकोले त्यसलाई ध्यानमा राखेर शरणार्थीहरूले पनि सरकारी या सामुदायिक विद्यालयहरूमा पढ्न पाउने, आधारभूत स्वास्थ्य सेवाको अवसर प्रधान गर्नुका साथै सरकारी अस्पतालमा उपचारको सुविधा प्रदान गर्ने, प्रचलित कानूनको अधिनमा रही कानूनको पालना गर्ने गरी स्थानीय तहको स्वीकृतमा सामान्य व्यापार व्यावसाय गर्नुका साथै कृषिजन्य उत्पादन गर्न सामूहिक खेतीका लागि जग्गाको प्रबन्ध गर्ने लगायतका व्यवस्था गरी उनीहरूको जीवन जीउन सहज बनाउन मन्त्रिपरिषदले भुटानी शरणार्थीसम्बन्धी समस्या र समाधानको उपायहरूको सम्बन्धमा प्रस्ताव पास गरिएको हो।
यो प्रस्ताव भुटानी शणार्थीहरूको व्यवस्थापनका लागि असल मनशायले गरिएको हो।
शरणार्थीका नाममा अवान्छनीय गतिविधि रोक्नका साथै कसैलाई पनि भ्रममा नपर्न मन्त्रालयले विभिन्न समयमा परिपत्रसमेत गरेको थियो। यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय, शरणार्थी समन्वय इकाइ बेलडाँगी झापाबाट मिति २०७८/०८/०३ गते भुटानी शरणार्थी शिविर बेलडाँगीका सम्पूर्ण शिविरबासीहरूलाई सूचना निकाली जानकारीसमेत गराइएको, यसैगरी समय-समयमा निर्देशनहरू पठाइरहेको हो।
भुटानी शरणार्थीको नाममा नेपालीहरूलाई मिसाई भुटानी शरणार्थी बनाई तेस्रो देश पठाइदिन्छौं भनी रकम लिएको भन्ने आरोपमा मेरो संलग्नता छैन। मेरो मोबाइल फ्याक्ट्री रिसेट कसरी भयो मलाई थाहा भएन।
म गृहमन्त्रीको ओहोदामा हुँदा तथा मन्त्रीको ओहोदामा नहुँदासमेत नेपालको छवि उच्च राख्ने काम गरेको छु।
कोभिड-१९ को समयमा भुटानी शरणार्थी तथा तिब्बतीयन शरणार्थी समेतलाई भ्याक्सिन लगाउन नेपाली नागरिकता हुनुपर्ने अवस्थामा समेत मैले पहल गरी निजहरूलाई भ्याक्सिन लगाउने कार्य गरेको हुँ।
जसको अन्तर्राष्ट्रिय समुदायले समेत प्रशंसा गरेका थिए। भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्य ठिक होइन, मैले सो कार्य सोच्न पनि सक्दिनँ।


