काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरूको विरोध गर्दै कविता सुनाएका छन्।
मदन भण्डारी कला साहित्य प्रतिष्ठानले गरेको हिमवत खण्ड कला-साहित्य-संस्कृति सम्मेलनलाई आइतबार सम्बोधन गर्ने क्रममा ओलीले ‘अञ्जुलीभित्र सजाएर राखेको हिरा नेपाल’ शीर्षकको कविता वाचन गरे।
कवितामार्फत उनले पूर्वराजालाई लक्षित गर्दै भाइभारा र मूर्तिचोरको आरोप लगाएका छन्।
कवितामा प्रधानमन्त्री ओलीले ‘हराएको मूर्ति खोजी भइरहेको, भाइमाराको खोजी भइरहेको’ जस्ता बिम्ब प्रयोग गरेका छन्।
सिधै चोर बन्न नमिलेकाले ‘मूर्ति हराएको’ भन्नुपरेको प्रधानमन्त्री ओलीले भनेका छन्।
यस्तो छ ओलीले सुनाएको कविता
माथिको कविता सुनाउँदा केही विम्बहरूका लागि ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका शब्द सापटी लिएका थिए। पछिल्लो समय ‘वेश्यालयका ग्राहक’, ‘भाइमारा’ र ‘मूर्तिचोर’जस्ता विशेषण लगाएर प्रचण्डले पूर्वराजाको चर्को आलोचना गरिरहेका छन्।
चैत १ गते ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘भाइमारा र राजद्रोही’ भएको आरोप लगाएका थिए।
सिन्धुपाल्चोकको मेलम्चीमा शुक्रबार भएको कार्यक्रममा उनले भयानक दरबार हत्याकाण्ड गर्ने मुख्य योजनाकार पनि पूर्वराजा ज्ञानेद्र भएको आरोप लगाएका थिए। यस्तै पूर्वराजाले मूर्ति चोरी गरेको, सुन तस्करी गरेको र वंशनाश गरेको पनि आरोप लगाएका थिए।
चैत ४ गते प्रचण्डले विगतका राजाहरूले अन्तर्राष्ट्रिय वेश्यालय गएर नेपालको बेइज्जत गरेको आरोप लगाइदिए। राजेन्द्र श्रेष्ठको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
‘कोत पर्व के थियो? भण्डारखाल ककसको झगडाले भएको हो? त्यहाँ सयौं भारदारहरुको कत्लेआम कसरी गरिएको थियो? नेपालको नक्सालाई संकुचित बनाउने काम दरबारिया राजाहरुले कसरी गरेका थिए? विदेशीको चाकडी कसरी गरेका थिए?,’ उनले भने, ‘हिजोका राजा र महाराजाहरु अन्तर्राष्ट्रिय रुपमा वेश्यालयमा गएर नेपालको बेइज्जत कत्ति धेरै गराएका थिए? यही अस्ति भर्खरै कलकत्तामा बेइज्जत गरेर जवहारलाल नेहरुले त तिमीहरुको राजाले त बेइज्जत नै गर्यो, छिटो फर्काउ भन्नपर्ने, त्यो स्तरको कसले गरेको थियो? नमिता-सुमिता हत्याकाण्ड के थियो? दरबार हत्याकाण्ड कसले कसरी गरेको हो? यो युवाहरुलाई बुझाउनु पर्छ।’
