नवलपरासी- नेपाल बार एसोसिएसनको आसन्न निर्वाचनका लागि खडा भएको वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र नेतृत्वको बृहत् लोकतान्त्रिक प्रगतिशील समूहको मेची–महाकाली यात्रा नवलपरासी आइपुगेको छ। बुधबार बिहान टोली नवलपरासी आइपुगेको हो।
टोलीलाई नवलपरासी जिल्ला बारले स्वागत तथा जितका लागि शुभकामना दिएको थियो। जिल्ला बार ईकाइले नवलपरासीमा आयोजना गरेको कार्यक्रममा अधिवक्ता सरस्वती शर्माले स्वागत मन्तव्य राख्दै नवलपरासी जिल्ला अदालतका विद्यमान समस्या र बारको जीर्ण भवनका विषयमा केन्द्रीय नेतृत्वको प्रत्यासी मिश्र समूहको ध्यानाकर्षण गराएकी थिइन्। उनले मिश्र नेतृत्वको समूहलाई सफलताका लागि शुभेच्छा पनि व्यक्त गरिन्।
प्राडा मिश्र समूहबाट महासचिवका वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले बारका २५ सदस्यीय कार्यसमितिमा आफ्नो समूहबाट खडा भएका सबै उम्मेदवारहरूलाई नवलपरासीका कानुन व्यवसायीहरूसँग परिचय गराएका थिए।
प्राडा मिश्रको समूहले संविधान रक्षा, मानव अधिकार संरक्षण, न्यायालय सुधार, र कानुन व्यवसायीहरूको हकहित प्रवर्द्धनलाई आफ्नो प्राथमिकतामा राखेर चुनावमा होमिएको छ।
कार्यक्रममा लुम्बिनी प्रदेश उपाध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता कृष्णप्रसाद पोखरेलले कानुनी क्षेत्रमा मिश्रको योगदानबारे चर्चा गरेका थिए। ‘प्राडा विजयप्रसाद मिश्र एक बौद्धिक व्यक्ति हुनुहुन्छ। उहाँ कम बोल्नुहुन्छ, तर धेरै काम गर्नुहुन्छ,’ उनले भनेका थिए, ‘त्यसैले हाम्रो घोषणापत्र लामो छैन, तर काम ठोस रूपमा गर्नेछौँ।’
बार एशोसिएशनमा अध्यक्ष पदका उम्मेदवार मिश्रले न्याय सुधारका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए। ‘बारको आगामी नेतृत्व लिन तयार टोली यहाँहरूसम्म आएको छ। हामी देशभरका कानुन व्यवसायीहरूका समस्या संकलन गरी तीन वर्षभित्र समाधान सुनिश्चित गर्नेछौँ,’ प्राडा मिश्रले भने, ‘न्यायालयलाई पारदर्शी, निष्पक्ष, र भ्रष्टाचारमुक्त बनाउन हाम्रो टिम दृढ छ।’
न्यायालयबाट भ्रष्टाचार हटाउने, बारलाई अन्तर्राष्ट्रिय रूपमा सशक्त बनाउने, नवोदित अधिवक्ताहरूको क्षमता अभिवृद्धि गर्ने र साइबर अदालत स्थापना गर्न पहल गर्ने आफ्नो टिमका प्राथमिकता भएको उनले उल्लेख गरेका थिए।
वरिष्ठ अधिवक्ता सुदर्शन पन्तले बारलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने विषयमा सबै कानुन व्यवसायी गम्भीर हुनुपर्ने र यसको नेतृत्वका लागि मिश्र समूह सक्षम हुने विश्वास व्यक्त गरेका थिए। त्यसैगरी, वरिष्ठ अधिवक्ता थिरलाल पराजुलीले संविधान संशोधन प्रक्रियामा कानुनी व्यवसायीहरूको सशक्त भूमिका आवश्यक रहेको बताए।
‘कानुन व्यवसायमा भर्खरै प्रवेश गरेका नवोदित अधिवक्ताहरूको संख्यामा वृद्धि भइरहेकाले उनीहरूको सीप, क्षमता र दक्षता बढाउँदै, न्यायालय सुधारका लागि ठोस कदम चाल्न यो टिम सफल होस् भन्ने कामना गर्छु,’ पराजुलीले भनेका थिए।
कार्यक्रमको अध्यक्षता गरेका नवलपरासी बारका अध्यक्ष रामकृष्ण पौडेलले न्याय सुधार र कानुनी व्यवसायीहरूको हकहितका लागि मिश्र नेतृत्वको समूहलाई मतदान गर्न आग्रह गरेका थिए। ‘न्यायालय सुधार, कानुनी व्यवसायीहरूको सशक्तीकरण, र पारदर्शी न्याय प्रणाली निर्माणका लागि मिश्र नेतृत्व नै उपयुक्त छ,’ उनले भनेका थिए। बार एसोसिएसनको निर्वाचन नजिकिँदै गएपछि मिश्र नेतृत्वको समूह कानुन व्यवसायीहरू माझ लोकप्रिय बन्दै गएको उनले बताए। जिल्ला बारका सचिव भवराज पाण्डेले कार्यक्रम सञ्चालन गरेका थिए।


