काठमाडौँ- नेपाली कांग्रेसले गणतान्त्रिक मोर्चा तत्कालका लागि आवश्यक नभएको ठहर गरेको छ।
पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिएका हुन्।
गणतन्त्रका पक्षमा संसद् र नागरिकको अधिकांश तप्का प्रतिबद्ध रहेको भन्दै गणतन्त्रवादीले मोर्चा खडा गरिहाल्नुपर्ने अवस्था नरहेको कांग्रेसको निष्कर्ष छ।
‘निर्वाचित सार्वभौम संविधानसभाले जारी गरेको संविधानमा प्रतिबद्धता जाहेर गर्यो। संविधानभित्रैबाट जनताका आकांक्षा सम्बोधन गर्न सकिन्छ र गर्नुपर्छ भन्ने निर्णय भयो,’ प्रवक्ता प्रकाशशरण महतले भने, ‘जुन किसिमबाट अहिले संविधानको खिलाफमा बहस गरिँदैछ, त्यसबारे हाम्रो धारणा राखिएको हो। जनतामा केही असन्तुष्टि छन् भने संविधानभित्रैबाट सम्बोधन गर्न सकिन्छ।’
प्रधानमन्त्री केपी शर्मा ओली र संसदमा विपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको गणतान्त्रिक मोर्चाका लागि प्रस्ताव गरेको उनको भनाइ थियो। तर त्यस्तो आवश्यक नदेखिएको उनको भनाइ छ।
‘सत्तापक्षका दल मात्र होइन प्रतिपक्षमा रहेका समेत दलको गणतन्त्रमा प्रतिबद्धता छ,’ महतले भने, ‘जुन कुरामा विवाद नै छैन त्यसमा मोर्चाबन्दीको आवश्यकता हुँदैन।’
अहिले असन्तोष जाहेर गरिरहेका पार्टीलाई पनि संविधानभित्रै रहेर समाधानको प्रयास गर्न सुझाव दिने निर्णय भएको जानकारी दिए।
उता कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सभापति बन्न सुझाव दिएका छन्। कांग्रेसको बागमती प्रदेश प्रशिक्षण विभागले गरेको कार्यक्रममा आइतबार सभापति देउवाले राप्रपालाई पूर्वराजा शाहलाई पार्टी सभापति बनाउन सुझाव दिएका हुन्।
उनले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको र ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति नभएको बताएका छन्। देउवाले भने, ‘नेपालमा राजतन्त्र फर्किने सम्भावना छैन। ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति पनि होइनन्,’ देउवाले भने, ‘बरु राप्रपाले ज्ञानेन्द्रलाई पार्टी सभापति बनाए हुन्छ।’
पूर्वराजाले राप्रपामा सक्रिय भए धेरै दुःख पाउने देउवाको भनाइ थियो। ‘राजनीति गर्ने भए पार्टी खोल्दा भइहाल्यो नि! तर त्यो पार्टीमा जानेहरूले धेरै नै दुःख पाउँछन्,’ देउवाले भने।
देउवाले राजतन्त्र फर्किने सम्भावना नरहेको उनको भनाइ छ।


