काठमाडौँ- नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नक्कली शरणार्थी प्रकरणमा सरकारले गरिरहेको अनुसन्धानमाथि असन्तुष्टि व्यक्त गरेका छन्। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै थापाले राज्यविरुद्धको अपराधमा सबै कुरा दूधको दूध पानीको पानी हुनुपर्ने बताए।
‘यो राज्यविरुद्धको अपराधमा संलग्न एक एक मान्छेलाई कारबाही हुनुपर्छ। दूधको दूध पानीको पानी हुनुपर्छ। तर सरकारले गरेको अनुसन्धान प्रक्रिया फेयर भएन भने विकल्प खोजी हुन्छ, जनताले हेरिरहेका छन्’, थापाले भने।
यो प्रकरणमा समाजका कोको परे, को को परेनन् भन्ने कुराले लाज पनि लजाउन थालेको भन्दै थापाले आपत्ति जनाउँदै उनले भनेका छन्, ‘हाम्रा वरिपरिका मानिस तानिने होकि भन्ने भएको छ। चाहे त्यो सलाम गर्ने होस् या सलामी खाने होस्। सरकारको परीक्षा पनि छ। अब न्यायालयको परीक्षा सुरु हुन्छ, न्यायको अनुभूति हुनुपर्छ। राज्यविरुद्धको अपराधमा संलग्न एक एक मान्छेमाथि कारबाही हुनुपर्छ।’
कांग्रेस महामन्त्रीसमेत रहेका थापाले घरको या बार्दलीको जहाँसुकैको भए पनि छुट्न नहुने बताएका छन्। नक्कली शरणार्थी प्रकरणलाई सरकारले राम्रोसँग टुंग्यायो भने मात्रै सरकारको प्रशंसा हुने थापाले बताएका छन्।
