काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तीन दलका नेताहरूको निरन्तरको भेटबारे आफूहरूले खासखुस गरेका बेला गन्ध ठासठुस आएको बताएका छन्। बुधबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा सहभागी हुँदै लामिछानेले यस्तो बताएका हुन्।
‘तीन पार्टीका नेताहरू मात्रै बसेका बेला हामीले खासखुस गरेका थियौँ। तर त्यसको गन्ध ठासठुस आयो संसदसम्म,’ उनले भने।
नक्कली शरणार्थी प्रकणमा हाइप्रोफाइल भनिएकाहरू धमाधम पक्राउ गर्ने शृंखला चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले निरन्तर भेटघाट गरेका थिए। उक्त भेटपछि शरणार्थी प्रकरणमा संलग्नहरूलाई जोगाउने खेल भएको विषयमा प्रश्न उठेको थियो।
तर प्रहरीले मंगलबार बुझाएको यो प्रकरणको अनुसन्धान फाइलमा एमाले नेता रामबहादुर थापा बादल र एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयसम्मका व्यक्तिहरू संलग्न भएको पक्राउ परेका अभियुक्तले बयान दिएका छन्। उनले प्रधानमन्त्री दाहालको मुटु जाँच गर्ने समेत उल्लेख गरे।
