धनकुटा- सहिद भीमनारायण गोल्ड कपको १७औँ संस्करण आजदेखि सुरु भएको छ।
धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा आज भएको उद्घाटन खेलमा सप्तरीको नमोबद्ध युथ क्लब विजयी भएको छ। उसले आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानलाई ३–१ गोलअन्तरले हराएको हो।
सप्तरीले पहिले हाफमा तीन गोल गरेको थियो। खेलको १९औँ मिनेटमा निर्मल घिसिङ, खेलको ३२औँ मिनेटमा मिक्सम दास र ३९औँ मिनेटमा मोहित गुरुङले गोल गरेका थिए। भीमनारायण स्मृति प्रतिष्ठानका लागि दोस्रो हाफमा कप्तान दीपेन शाक्यले सान्त्वना गोल गरेका थिए।
सोमबार ब्वाइज फुटबल क्लब इटहरी, सुनसरी र गाईघाट फुटबल क्लब उदयपुरबीच खेल हुने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए। यही चैत २३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा आठ टोली सहभागी छन्।
यसअघि खेलको उद्घाटन महालक्ष्मी नगरपालिका धनकुटाका प्रमुख ध्रुव रायले गरेका थिए। प्रतियोगिताको विजेताले रु ५ लाख तथा उपविजेताले रु २ लाख ५० हजार पुरस्कार पाउने छन्।
तत्कालीन राजा वीरेन्द्र शाहलाई बम हानेको आरोपमा पक्राउ परेका सहिद भीमनारायण श्रेष्ठलाई २०३५ सालमा शाही सरकारले गोली हानी हत्या गरेको थियो।
विसं २०७३ मा उनलाई राष्ट्रिय सहिद घोषणा गरिएको हो। उनको सम्झनामा २०५५ सालदेखि प्रतिष्ठानले यो प्रतियोगिता सञ्चालन गर्दै आएको छ।


