हेटौंडा- मकवानपुरको इन्द्रसरोबर–३ स्थित सिस्नेरी खोलामा डुबेर तीन जना बालकको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार पौडी खेल्ने क्रममा खोलाले बगाउँदा उनीहरूको मृत्यु भएको हो।
मृत्यु हुनेहरूमा इन्द्रसरोबर–३ सिस्नेरी डोडारेका १४ वर्षीय सुशान्त आचार्य, काभ्रेको फूलबारी दाप्चाका १४ वर्षीय प्रमेश घोरासैनी र ११ वर्षीय प्रमाध घोरासैनी रहेका छन्।
प्रमेश र प्रमाध दाजुभाइ हुन्। सुशान्त उनीहरूका मामाको छोरा हुन्।
मामाघर आएका घोरासैनी दाजुभाइ मामासँगै पौडी खेल्न खोलामा गएका थिए।
तर, खोलाको पानीमा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय भीमफेदीकी प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिएकी छन्।
मृतकका शव पोस्टमार्टमका लागि काठमाडौं पठाइएको छ।


