मेरा मित्र कृष्ण शाह यात्रीले करिब २ दशकअघि ‘बामियानका बुद्ध’ नामक नाटक निर्देशन गरेका (हाल उनी विदेशमा रहेका छन्) थिए। जति वेला तालिवानले अफगानिस्तानमा कब्जा गरेर बामियानका बुद्धमूर्तिहरू घनले फोडेका थिए। त्यसो त तालिवानहरू फेरि सत्ता कब्जा गरेर राजनीतिमा फर्किएका पनि छन्।
शान्तिका प्रतीक बुद्धका मूर्ति फोडिएपछि शाहले उक्त नाटक लेखन तथा निर्देशन गरेका थिए। उक्त नाटक हेर्ने दर्शक बन्न म पनि पुगेको थिएँ राजधानीको बसाइमा। तर यति वेला लुम्बिनी प्रदेश अर्न्तगतको गृहजिल्ला कपिलवस्तु छु। जहाँ बुद्धको जन्मस्थल र घरबार छाडेको विगतसँग जोडिन्छ।
आखिर विपश्यनाको के हो? विपश्यना भारतको एक धेरै प्राचीन ध्यान विधि हो। लामो समयदेखि मानव जातिमाझ हराएको यो ठाउँ लगभग २५०० वर्षअघि भगवान बुद्धले पुनः पत्ता लगाएका थिए। विपश्यना भनेको कुनै पनि चीजलाई वास्तवमा जस्तो छ, त्यस्तै जान्नु हो। यो भित्री आत्माको गहिराइमा गएर र आत्म-आत्मनिरीक्षणमार्फत आत्म-शुद्धिको अभ्यास हो।
विपश्यना विधिमा आफ्नै सास महसुस गर्ने अभ्यास गरिन्छ। अर्थात्, सासको प्रवाह महसुस गर्ने र त्यसप्रति सचेत हुने। विपश्यना ध्यानका पाँच सिद्धान्तहरू विचार गरिएको छ। कुनै पनि जीवित प्राणी विरुद्ध हिंसाको पूर्ण निषेध, चोरी नगर्नु, ब्रह्मचर्य पालना गर्नु, अश्लील भाषा प्रयोग नगर्नु र मादक पदार्थ सेवन नगर्नु विपश्यनाका पाँच आधारभूत सिद्धान्त हुन्। जीवनमा त्यसको पालना कति गर्न सकिन्छ वा सकिँदैन?
खै किन हो, मेरो विपश्यना गर्ने रहर वा धोको भनैं वर्षौँ पहिलेको हो। त्यसो त त्यसलाई अन्यथा नबुझियोस्। म सामान्य एउटा नागरिक हुँऽ मनको असन्तुष्टि मेटाउनु मात्रै हो। भलै सिरिङ्गे घाटस्थित धम्मस्थलमा पुरा भएको छ। त्यसो त उक्त स्थल भगवान रामचन्द्रलाई जन्म गराउने शृंगी ऋषिले तपस्या गरेको स्थल भनेर पौराणिक कथामा उल्लेख गरिएको पाइन्छ। उक्त तथ्य स्वर्गीय साहित्यकार लाटो साथीले ‘शान्तकुञ्ज’ पुस्तकमा समेत उल्लेख गर्नुभएको छ।
कुनै पनि जीवित प्राणी विरुद्ध हिंसाको पूर्ण निषेध, चोरी नगर्नु, ब्रह्मचर्य पालना गर्नु, अश्लील भाषा प्रयोग नगर्नु र मादक पदार्थ सेवन नगर्नु विपश्यनाका पाँच आधारभूत सिद्धान्त हुन्। जीवनमा त्यसको पालना कति गर्न सकिन्छ वा सकिँदैन?
अप्रिल ४ देखि १५ तारिखसम्म उक्त विपश्यना सम्पन्न भएको थियो। एउटा दुखद् पक्ष उक्त विपश्यनास्थलबाट फर्किएपछि मैले भने डाक्टरकहाँ गएर दवाई नै खानु पर्यो। कारण के हो मलाई नै थाहा छैन, डाक्टरलाई थाहा होला। विपश्यना गर्ने साधकहरूमा जम्मा ५ जना मात्र रहेका थियौँ। त्यो पनि नयाँ मात्रै। त्यो पनि सबैभन्दा पछिल्लो विपश्यनास्थल कपिलवस्तुस्थित धम्म विपश्यनास्थलमा। यहाँ अहिलेसम्म करिब १ सय जनाले मात्र विपश्यना गरेको जानकारी हुन आएको छ। १० दिने विपश्यना गराउने गुरु पूर्वकम्युनिस्ट नेता मेघराज ज्ञवाली ८० वर्षीय हुनुहुन्थ्योऽ जो राजनीति चटक्क छाडेर विपश्यनाका साधक एवं गुरु बन्नुभएको छ।
मलाई विपश्यना गर्न पुर्याउने मेरा साथी अनन्य मित्र कपिलवस्तु चप्पगाउँ निवासी उमेश पौडेल हुनुहुन्छ, भने त्यहाँसम्म पुर्याउने सम्पर्क स्थापित गर्ने व्यक्ति पोमनारायण पौडेल हुनुहुन्छ। त्यस्तो उमेश पौडेल यस क्षेत्रकै पुराना विपश्यना साधक र गुरु मेघराज ज्ञवालीलाई समेत उक्त पदमा पुर्याउने व्यक्ति रहेको जानकारी स्वयं ज्ञवालीले गराउनु भएको थियो। १० दिने विपश्यनाका क्रममा मन तरङ्गित भएका प्रसङ्ग अनेक छन्। त्यस क्रममा मेरा उच्च शिक्षा अध्ययनका सहपाठी उमेश श्रेष्ठ र कृष्ण ढुङ्गानालाई नसम्झिएको पनि हैन। किनकि उनीहरू पत्रकार रहे पनि वर्षौँ पहिलेदेखि विपश्यना साधक पनि हुन्।
प्रसङ्ग फेरि मेघराज ज्ञवालीतर्फ डोहोर्याऔँ। उहाँले जन्माएका चेलाहरू देशका मन्त्री केन्द्रीय कमिटी सदस्यसम्म पुगेका थुप्रै उदाहरण छन्। कपिलवस्तुका माओवादी नेता एवं पूर्वमन्त्री बलदेव खनाल उहाँले नै जन्माएका कम्युनिस्ट नेता हुन् भने अन्य थुप्रै नेताहरू पनि छन्। माओवादी अन्तरिम विधायक रामलौटन तिवारी पनि राजनीतिमा उहाँले नै जन्माएका अर्का नेता हुन्। त्यो विगतलाई सामान्य मान्दै अहिले उहाँ विपश्यनाका साधक एवं गुरु बन्नुभएको छ र उहाँको अबको इच्छा नासिक भारत स्थित इगतपुरी पुगेर ९० दिनको साधना गर्ने रहेको छ। राजनीति भौतिकवाद हुँदै आध्यात्मिक चिन्तनको मार्गबाट मुक्तिको अर्थात् मोक्ष मार्ग प्राप्त गर्न उहाँले यो मार्ग अवलम्बन गरेको बताउनुहुन्छ।
उहाँको चिन्तन र धारा प्रवाह प्रवचन सुन्दा कुनै दार्शनिक भन्दा कम लाग्नुहुन्न किनकि उहाँले जीवन कम्युनिस्ट राजनीतिमा समर्पण गरेर अन्तिम समयमा बुद्धले अवलम्बन गरेको विपश्यना अवलम्बन गर्नु भएको छ। विपश्यना हलमा बस्दा शिरमा नेपाली टोपी साधा पोसाक अनि आँखा अगाडि पछाडि झल्किन्छ। शान्त शालीन निश्चल निष्कपट व्यक्तित्वका रूपमा उहाँको व्यक्तित्व देख्न पाउँदा आफैलाई आनन्द लाग्छ। आखिर हत्या हिंसाको मार्गबाट मुक्ति खोज्दै उहाँ बुद्धले अवलम्बन गरेको विपश्यनालार्इ उहाँले गन्तव्य बनाउनु भएको छ। यति भनिरहँदा ज्ञवाली गुरुलाई कुनै लोभ लालच र राजनीतिमा पदको अभिलाषा छैन। निस्फिक्री रूपमा शान्तिको चाहना उहाँमा बुझ्न सकिन्छ।
त्यस दौरानमा विपश्यनाका अन्वेषक सत्यनारायण गोयान्काको प्रवचन सुन्दा एक दिनको प्रवचन ‘टेडी खीर’ बडो स्मरणीय छ। श्री सत्यनारायण गोयन्काका अनुसार त्यसको सार रहेको छ- दुई जना साथी रहेका हुन्छन्। एक जना अन्धा र एक जना सामान्य आँखा देख्ने बालक। सेतो बकुल्लालाई त्यहाँ प्रस्तुत गरिएको छ। ‘जिनेकी कला विपश्यना साधना’ पुस्तकमा उक्त कथा पेज ८४ मा उल्लेख छ।
नेपालका राजनीतिक नेताहरू एकपटक भए पनि विपश्यनास्थल पुगेर विपश्यना गर्न सके केही सुधार त हुन्थ्यो कि?
सेतो बकुल्ला आखिर कस्तो हुन्छ त? आँखा नदेख्ने अन्धोले छोएर त्यसको अनुभूत गर्छ। खिर पनि त्यस्तै टेढो बकुल्ला जस्तो हुन्छ होला भन्ने कुरालाई सारमा प्रस्तुत गरिएको छ, आँखा नदेख्नेका लागि। उक्त कथा सुन्दा नेपालको राजनीति पनि सेम त्यस्तै लाग्छ किनकि राजनीति आआफ्नै किसिमले व्याख्या गर्ने गरिए पनि त्यसको केन्द्रमा जनता छन् भन्ने कुरा सबैले बिर्सिएका छन्। स्वार्थको राजनीति हाबी भएको छ सबैलाई सत्ता अनि स्वाद चाहिएको छ। नागरिक रणभुल्लमा छन्। उही टेढो खिर जस्तो बकुल्लालाई छामेर खिरको कल्पना गर्नुपर्ने अवस्था छ। नेपालको राजनीति यति बेला गिजोलिएको छ त्यसैले नेपालका राजनीतिक नेताहरू एकपटक भए पनि विपश्यनास्थल पुगेर विपश्यना गर्न सके केही सुधार त हुन्थ्यो कि? गुरु मेघराज ज्ञवालीजस्तै।
राजनीतिलाई नजिकबाट नाडी छामेका गुरु मेघराज ज्ञवालीले ती सबै कुराबाट मुक्तिको मार्गलाई सजिलै बुझ्नुभएको छ। तर उहाँको कुराको सुनवाइ कसैले गर्नेवाला पनि छैन। गर्नु पनि किन? सबैले निहित स्वार्थको राजनीति गरिरहेका छन् र घाममा आआफ्नै किसिमले स्वार्थकै रोटी सेकाइरहेका छन्। केही दिनदेखि राजधानी केन्द्रित राजनीतिले ती सबै कुराको अनुभूति र आभास गराउँछ।
शान्तिको खोजी गर्दै विपश्यनास्थल पुग्नेहरूका लागि त्यस ठाउँ सुन्दर मनोरम र जङ्गलको एकान्त स्थलमा रहेको छ। अझै वसन्त ऋतुको संघार। चराचुरुङ्गीहरूको आफ्नै लय र आवाज आफैमा सुन्दर र मनमोहक लाग्दछन्। तर त्यस बाणगंगा नदीमा रहेका ढुङ्गाहरू रातदिन झिकिरहँदाखेरि जसरी बामियानका बुद्ध मूर्तिहरू घनले फोडिएका थिए, त्यसरी नै त्यहाँ साधकहरूलाई घनले हिर्काए जसरी नमिठो अनुभव लिएर बस्नुपर्दाको पीडा आफ्नै छ। त्यसको जरो पहिलाउँदा आखिर नदीमा हुने ढुङ्गा र गिट्टी तस्करी सबैभन्दा ठुलो समस्या रहेछ। स्थानीय राजनीति जिल्लाको राजनीति प्रहरी प्रशासन सबै त्यसबाट विमुक्त रहेनछन्।
आखिर त्यसलाई बचाउने कसले त, बचाउन कसैले त जिम्मा लिनुपर्ने होला? नदीको आईई गर्दा निकाल्ने समय कति परिणाममा निकाल्ने भन्ने कुरा सबै उल्लेख गर्नुपर्ने त होला। तर त्यस अनुसार त्यसको परिपालना भए नभएको जिम्मेवारी पुरा गर्ने कसले? आवश्यकताको पूर्ति गरिरहँदा त्यसलाई कति गर्ने भन्ने कुरा प्रकृतिलाई पनि साथ दिनुपर्ने होइन र? प्रकृति दोहन गरेर कमाएको धन र कमाएको पद प्रतिष्ठाले कति दिन धान्ला जीवन जिन्दगी? विकासका नाममा विनाशको पनि त मूल्य र मान्यता होला।
अन्तमा भन्न चाहन्छु राजनीति जे जस्तो भए पनि यति बेला प्रकृतिलाई बचाऔँ प्रकृतिबाट सबै कुरा प्राप्त गर्न सकिन्छ। यदि प्रकृति नै रहेन भने हामीले प्राप्त गर्ने स्रोत र साधन के बाट प्राप्त होला र, मानव चोला आखिर पञ्चत्वमा विलीन भएर जाने न हो।


