काठमाडौँ- राजावादी आन्दोलनका फिल्ड संयोजक दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन्।
गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके भनिएका प्रसाईँलाई नेपाल ल्याउने तयारी भइरहेको स्रोतको भनाइ छ।
प्रसाईँको सचिवालयले प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको दाबी गरेको छ।
‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंलेज्यूले आफ्नो सुरक्षाका लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ’, उनको सचिवालयले बिहीबार राति फेसबुकमा पोस्ट गरेको छ।
प्रसाईंमाथि हिंसा भड्काएको आरोप छ।
तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केही बेरपछि सम्पर्कविहीन भएका थिए। उनलाई पक्राउ गर्न नगरी छोडिएको भन्दै प्रहरीको आलोचना भइरहेको थियो।
तीनकुनेमा भएको प्रदर्शन भाँडिएपछि दुई जनाको मृत्यु भएको थियो भने निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो।


