पर्सा- जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आइतवार राति १२ बजेसम्म थप गरेको छ।
स्थिति अझै सामान्य नबनेको निष्कर्षसहित प्रशासनले चैत ३१ गते राति १२ बजेसम्म कर्फ्यू जारी राख्ने निर्णय गरेको हो।
दुई समुदायबीच झडप भएपछि शनिबार साँझ ७ः३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म कर्फ्यू लगाइएको थियो।
पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।
विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा शनिबार अपराह्न करिब ४ः५० बजे वीरगञ्ज महानगरपालिका–२ श्रीराम हलस्थित जामा मस्जिद अगाडि पुग्दा दुई समूहबीच झडप भएको थियो।
अवस्था तनावग्रस्त बनेपछि प्रहरीले ५ः४० बजे पाँच सेल अश्रुग्यास फायर गरेको थियो। झडपका क्रममा एक थान मोटरसाइकलमा आगजनी समेत भएको थियो। सोही ठाउँमा एउटा फ्रिज पनि पसलबाट बाहिर निकालेर आगजनी भएको थियो। घटनास्थलमा खटिएका ८ जना प्रहरी घाइते समेत भएका छन्।
पर्सा प्रहरीले कर्फ्यू उल्लंघन गरेको आरोपमा ४० जनालाई पक्राउ गरेको छ। आइतबार विहानदेखि १० बजेसम्ममा विभिन्न ठाउँबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।
स्थानीय प्रशासनले लगाएको कर्फ्यू उल्लंघन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक किशोर लम्सालले बताए।
स्थानीय प्रशासनले तोकेको आदेश विपरित कार्य गर्नेलाई तत्काल नियन्त्रणमा लिने र अटेर गर्नेलाई गोली हान्ने आदेश भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन उनले आग्रह गरे। अहिले वीरगञ्जको अवस्था सामान्य बन्दै गएको छ।
वीरगञ्जमा शनिबार भएको घटनाले धार्मिक सदभाव विथोल्न सक्ने भन्दै स्थानीय प्रशासनले तनाव व्यवस्थापनको लागि सर्वपक्षीय बैठक राखेको थियो।
यता भारतको रक्सौल नाका हुँदै नेपाल भित्रिने यात्रुहरू कर्फ्यूका कारण सीमा क्षेत्रमा अलपत्र परेका छन्।
यात्रुहरूलाई गन्तव्यमा सहज पुग्न स्थानीय प्रशासनले वैकल्पिक नाकाहरू प्रयोग गर्न सुझाएको छ।


