काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनको सारेको छ। बिहीबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय महाधिवेशन २०८२ फागुन ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
यसअघि चैत १८ गते सभापति रवि लामिछानेको सभापतित्वमा बसेको केन्द्रीय समिति बैठकले वैशाखभित्रै महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर सहकारी ठगीसम्बन्धी मुद्दामा लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाएपछि रास्वपाले महाधिवेशनको मिति सारेको हो।
२०८२ आश्विनसम्ममा वडा अधिवेशन,कार्तिक सम्ममा पालिका अधिवेशन, मङ्सिर सम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्ने निर्णय रास्वपाको छ।
हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको १ हजार ९ सय ७५ वडा समिति गठन भइसकेको छन्। त्यसमध्ये ७ सय वटा वडामा अधिवेशन सम्पन्न भइसकेको छ। ७ सय ५३ पालिकामध्ये ४ सय ५८ वटा पालिकामा समिति गठन भएको रास्वपाको भनाइ छ।
यस्तै ७० वटा जिल्लामा भेला आयोजना भएर समिति गठन भइसकेको छ। सात वटै प्रदेशमा समिति गठन भएको छ।


