काठमाडौँ- प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कुराकानी भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा तीन शीर्ष नेताबीच शनिवार दिउँसो छलफल भएको हो।
तीन नेताहरूबीच विद्यमान राजनीतिक व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सृजना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्याउनेप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलसहित गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्नेमा समान मत देखिएको छ।
छलफलमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्यासम्बन्धी सल्लाहकार अग्नि खरेल पनि सहभागी थिए।
छलफलमा सङ्क्रमणकालीन न्यायसँग सम्बधित दुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेका कामबारे जानकारी गराउने काम पनि भएको सल्लाहकार खरेलले जानकारी दिए।


