काठमाडौँ- शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मन्त्री भट्टराईले राजीनामा बुझाएकी हुन्।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले चैत २० देखि काठमाडौं केन्द्रित प्रदर्शन जारी राखेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो।
शिक्षकका माग सम्बोधन गर्न उनले छलफल पनि गरेकी थिइन्। तर शिक्षकहरूले उनीबाट पनि आश्वासन मात्र पाएको भन्दै असन्तुष्टि पोखिरहे। शिक्षकहरुले सभामुख, प्रधानमन्त्रीसँग समेत छलफल गरे पनि निष्कर्ष निस्किएन।
भट्टराई नेतृत्वको मन्त्रालयले शिक्षकहरूलाई पटकपटक वार्ताका लागि बोलाइरहे। तर शिक्षकहरूले भने अटेर गर्दै बसे। शिक्षा विधेयकका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जथाभावी बोल्ने गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गर्दै आएकी थिइन्। यसपछि उनी ओलीसँग काम गर्न नसकिने मोडमा पुगेर राजीनामा दिएको हुन सक्ने आकलन गरिएको छ।
उता विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरुको अडान छ।
आन्दोलनमा सहभागी एक शिक्षकले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि शुरु हुने र यसमा पनि शिक्षकहरु समावेश नहुने जानकारी दिएका छन्।


