काठमाडौँ- करारमा भर्ना भएका अमिनले नै साढे तीन करोड रुपैयाँ भ्रष्टाचार गरेको पाइएको छ। करारका अमिन दिनेश प्रसाद यादवले साढे तीन करोडभन्दा बढी रकम भ्रष्टाचार गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले देखाएको छ।
काठमाडौँ उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौँद्वारा सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा जागिर खाँदा उनले उक्त परिणामको भ्रष्टाचार गरेको देखिएको हो।
यादवले २०६३ भदौ ८ गतेदेखि २०८१ असार ३० गतेसम्मको अवधिमा उक्त रकम भ्रष्टाचार गर्न भ्याएका हुन्। उक्त अवधिमा उनको आय ५ करोड ७१ लाख ६६ हजार रुपैयाँ देखिएको छ। तर उक्त अवधिमा यादवले पारिश्रमिक, भत्ता, नागरिक लगानी कोषबाट फिर्ता आएको रकम, आवास कर्जा, कृषि आय, गाडी बिक्री, घर बिक्री, जग्गा बिक्रीबाट प्राप्त रकम, सापटी लिएको तथा निज र निजको श्रीमतीले प्राप्त गरेको बैंकको ब्याज रकम गरी जम्मा कूल वैध आय २ करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ देखिन आएको रहेको अख्तियारको अनुसन्धानले देखाएको छ।
वैधानिक आयभन्दा ३ करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँ बढी आम्दानी देखिएकाले उक्त रकमलाई भ्रष्टाचारबाट आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो। उनीविरुद्ध बिगो र बिगो बराबरकै रकम असुल गर्नुपर्ने अख्तियारको आरोपपत्रमा उल्लेख छ।
दिनेश प्रसाद यादवले सार्वजनिक पदमा रहँदा गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढेबढाएको सम्पत्तिसमेत श्रीमती अमृता कुमारी यादवको नाममा राख्ने गरेका थिए। त्यसर्थ उक्त रकम असुलउपर गर्नका लागि अमृतालाई पनि प्रतिवादी बनाइएको छ।


