काठमाडौँ- वैशाख ८ गते सम्पन्न नेपाल ल क्याम्पसको स्ववियु निर्वाचनमा मिश्रित परिणाम आएको छ। अध्यक्षमा एमालेको भातृसंस्था अनेरास्ववियुका समिर रिजाल निर्वाचित हुँदा बहुमत कार्यसमितिमा भने नेविसंघले बहुमत ल्याएको छ।
सोमवार सम्पन्न गणनाको नतिजामा विजयी रिजालले नेविसङ्घका मोहम्मद परवेजलाई ११४ मतले पछि पारे। स्ववियु सचिवमा नेविसंघका मनमोहन भट्ट र कोषाध्यक्षमा पनि नेविसंघका विधीशा मिश्र विजयी भएका छन्। क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको गठबन्धनका उम्मेदवारलाई पछि पार्दै नेविसंघले बहुमत ल्याउन सफल भएको हो। यद्यपि अध्यक्ष पदमा पदमा भने नेविसंघका परवेज पराजित बन्नुपरेको छ।
१६५३ विद्यार्थीले गरेको मतदानमा नेविसंघका ४ सदस्य निर्वाचित भएका छन् भने समानुपातिकमा पनि नेविसंघले सबैभन्दा बढी मत ल्याएको छ। एमाले अखिल र माओवादी अखिल (क्रान्तिकारी)सहितका थुप्रै विद्यार्थी संगठनको घेराबन्दी तोड्दै विधीशासहितका ६ जना नेविसंघ उम्मेदवारले बाजी मारेका हुन्। नेविसंघबाट रेवन्त ढकाल, जुली पोख्रेल, सुप्रिया चालिसे र आशीष सापकोटा सदस्य पदमा विजयी बने।
कोषाध्यक्षमा निर्वाचित विधीशा नेपाल बार एसोसिएसनका नवनिर्वाचित अध्यक्ष वरिष्ठ अधिवक्ता प्राडा विजय प्रसाद मिश्रकी छोरी हुन्। चुनावी स्पर्धामा विधिविजयकै जित भयो। विजयले वैशाख ६ गते मात्र बार अध्यक्षको पदभार ग्रहण गरेका थिए। लगत्तै वैशाख ८ गते भएको स्ववियु चुनावमा विधीशाले बाबुकै जस्तो नतिजा हात पारिन्। एमाले निकट कानुन व्यवसायीहरूको संस्था पीपीएलएको सहयोगमा विजय बार अध्यक्षमा निर्वाचित हुँदा छोरी विधीशाले भने एमालेको भातृसंगठन अनेरास्ववियुको सहयोग भने पाइनन्। बरु अनेरास्ववियुले विधीशासहितका नेविसंघका उम्मेदवारहरूलाई पराजित गर्न बृहत् गठबन्धन गर्यो।
विजय नेपाल ल क्याम्पसकै प्राध्यापक हुन्। बाबु विजय बार अध्यक्षमा विजयी भएसँगै विधीशाले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै बुबाको नेतृत्वमा नेपाल बार एसोसिएसनले न्यायिक सुधारको नयाँ इतिहास रच्ने र विधिको थिति बसाल्न सफल हुने विश्वास व्यक्त गरेकी थिइन्।
‘मैले आफ्नो बाबालाई सधैँ न्यायको लागि लड्ने, कमजोरहरूको आवाज बन्ने, र सत्यको पक्षमा अडिग रहने एक अथक योद्धाको रूपमा देखेकी छु। उहाँको बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी सोच र कार्यशैलीले हाम्रो कानुनी क्षेत्रमा नवीन दृष्टिकोण ल्याउनेछ’, उनले फेसबुकमा लेखेकी थिइन्, ‘बाबा, तपाईँको नेतृत्वमा नेपाल बार एसोसिएसनले न्यायिक सुधारको नयाँ इतिहास रच्नेछ भन्ने मलाई विश्वास छ। तपाईँको ज्ञान, अनुभव र दृढ संकल्पले सबै कानुन व्यवसायीहरूलाई प्रेरणा दिनेछ।’ अहिले उनै विजयले पाएजस्तै शुभकामना विधीशाले पनि ग्रहण गरिरहेकी छन्।
नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन पाटन उच्च अदालतले आदेश नै जारी गर्नुपरेको थियो। चैत २७ गते न्यायाधीशद्वय श्यामकुमार भट्टराई र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले यथाशीघ्र निर्वाचन गराउन आदेश जारी गरेको थियो। २०८१ साल चैत ५ गतेका लागि तोकिएको निर्वाचन नगराइएको भन्दै विधीशालगायतको पहलमा अदालतमा मुद्दा दायर गरिएको थियो।
नेपाल ल क्याम्पसको अन्तिम मतपरिणाम
प्रत्यक्षतर्फ
समानुपातिकतर्फ


