काठमाडौँ- सडक आन्दोलनमा जारी राखेका शिक्षकहरूले कक्षा १२ को परीक्षा बहिष्कार गर्ने निर्णय गरेका छन्। यही वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा सुरु हुने तालिका छ।
राष्ट्रिय परीक्षा बोर्डले भने कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ। बोर्डको निर्णयपछि नेपाल शिक्षक महासंघले भने शिक्षक-प्रधानाध्यापकहरू भने परीक्षामा सामेल नहुने निर्णय गरेको हो। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘सरकारले परीक्षा सञ्चालन गरोस् तर, शिक्षक-प्रधानाध्यापक भने परीक्षामा सामेल हुँदैनन्।’
शिक्षक र सरकार टसको मस नहुँदा शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिनुपरेको छ भने यसको चपेटामा कक्षा १२ का विद्यार्थी पनि पर्ने भएका छन्।
विभिन्न मागसहित शिक्षा विधेयक जारी गर्नुपर्ने मागसहित २१ दिनदेखि काठमाडौँको सडकमा आन्दोलनरत छन्। सरकारले संसद्को बजेट अधिवेशनबाटै शिक्षा विधेयक जारी गर्ने बताए पनि शिक्षकहरूले आन्दोलनलाई जारी राखेका छन्।
शिक्षकहरूको मागलाई सम्बोधन गर्नका लागि कसरत गरिरहेकी भनिएकी शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिइसकेकी छन्। उनले सोमबार प्रधामन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएकी हुन्। उनले मन्त्री निवास समेत छोडिसकेकी छन्।
यता राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनमा सबै संयन्त्र प्रयोग गर्ने भएको छ। यही वैशाख ११ गतेदेखि हुने परीक्षाको व्यवस्थापन र सञ्चालनमा शिक्षक सहभागी नभए अरु संयन्त्र प्रयोग गरेर भए पनि परीक्षा सञ्चालय गर्ने निर्णय बोर्डले गरेको छ।
‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहलाई भन्ने। जिल्लामा परीक्षा समन्वय समिति छ। शिक्षा इकाइ छ। प्रदेशमा बोर्डको कार्यालय छ। सबै मिलेर केन्द्राध्यक्ष खटाएर परीक्षा हुन्छ,’ परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने। सबै शिक्षक नभए पनि कर्मचारीको सहयोगमा परीक्षा सञ्चालन गर्ने बोर्डले जनाएको छ।
‘शिक्षकहरूलाई फर्किन आह्वान गरेका छौं। जानुहुन्छ होला। जानु भएन भने त्यसको विकल्प पनि सोचेका छौं,’ शर्माले भने, ‘पालिकाका कर्मचारी, क्याम्पसका शिक्षक, निजीका शिक्षक पनि हुनुहुन्छ। जिल्लामा आवश्यकता हेरेर प्रमुख जिल्ला अधिकारीले सहज हुनेगरी संयन्त्र प्रयोग गर्न सक्नु हुन्छ।’
बाहिरी सुरक्षाका लागि प्रहरी परिचालनन हुने बोर्डले जनाएको छ। ‘शिक्षक केन्द्राध्यक्ष हुँदा पनि सुरक्षाका लागि प्रहरी परिचालन गरिने गरेको थियो,’ उनले भने। यसपटक १२ कक्षाको परीक्षा दिने विद्यार्थीको संख्या ५ लाख ११ हजार छ। परीक्षा केन्द्र १ हजार ५९० तोकिएको छ।
२१ दिनदेखि निरन्तर सडक आन्दोलन गरिरहेका शिक्षकहरु शिक्षामन्त्री विद्या भट्टराईको राजीनामापछि थप उत्साहित देखिन्छन्। सुवेदीले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा र शिक्षक आन्दोलनको कुनै साइनो नभएको स्पष्ट पारे।
‘माननीय शिक्षामन्त्रीज्यूको राजीनामा र हाम्रो आन्दोलनको कुनै साइनो छैन। सार्वजनिक करुपमा उहाँले आफ्नो स्वास्थ्यको कारण भन्नुभएको छ आन्तरिक कारण के हो जान्ने कुरा पनि भएन,’ उनले भने, ‘हामीलाई चासो पनि भएन। म प्रस्ट पार्न चाहन्छु उहाँको राजीनामासँग हाम्रो आन्दोलनको कुनै साइनो छैन।’
विद्यालय भर्ना अभियानका साथै सम्पूर्ण शैक्षिक गतिविधि ठप्प पारी आन्दोलनमा होमिँदा शिक्षामा क्षतिको अवस्था नआउने भन्दै परीक्षा तयारीमा लागेका विद्यार्थीको परीक्षा रोकिदा आफू पनि संवेदनशील रहेको बताए।
‘कक्षा १२ को परीक्षामा हप्ता–१० दिन विलम्व हुँदैमा त्यस्तो ठुलो क्षति हुँदैन। परीक्षा तयारी गरेका विद्यार्थीलाई परीक्षा रोकिँदा मनमा चोट पर्छ। त्यो प्रति हामी संवेदनशील छौँ,’ उनले भने। उनले राज्यले यो अवस्थामा ल्याउन बाध्य पारेका भन्दै शैक्षिक क्षतिलाई पुरा गर्न विदाको समयमा पढाउने पनि बताए।


