काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षकले अघि सारेका मागलाई समेत सम्बोधन हुने गरी विधालय शिक्षा विधेयक पारित गराउन पहल गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले शिक्षकले राखेका मागलाई अध्ययन गर्दै त्यसलाई समेत सम्बोधन हुने गरी विधालय शिक्षा विधेयक पारित गराउन पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
यसका लागि प्रतिनिधि सभा अन्तर्गतको शिक्षा समितिमा रहेका सांसद डा तोसिमा कार्की, सुमना श्रेष्ठ र शिशिर खनालको टीम बनाउने निर्णय भएको उनले बताए।
त्यस्तै आगामी बर्षको नीति तथा कार्यक्रमका साथै बजेटको छलफलमा पनि प्रभावकारी ढंगले उपस्थीति जनाउने निर्णय बैठकले गरेको छ।
नीति तथा कार्यक्रमका साथै बजेटको छलफललाई प्रभावकारी बनाउन उपसभापति डा. स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिने निर्णय भएको प्रमुख सचेतक परियारले बताए।
त्यस्तै दलको बैठकले राज्य व्यवस्था समितिमा छलफलका क्रममा रहेको निजामति विधेयकमाथिको छलफलमा समेत पार्टीले प्रभावकारी रुपमा भूमिका निर्वाह गरी छिटो अघि बढाउन पहल गर्ने निर्णय गरेको छ।


