काठमाडौँ- राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ ७ बजेर ३४ मिनेटको समयमा ४.२ म्याग्निच्यूडको भूकम्प गयो।
रुकुमपूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पश्चिम नेपालमा लगातार गइरहेको भूकम्पमध्येको पछिल्लो हो।
भूकम्प स्मृति दिवस मनाउन लागिएको अघिल्लो दिन नै रुकम पूर्वमा सामान्य प्रकृतिको भूकम्प गएको हो।
पश्चिम नेपालमा पछिल्ला दिनमा साना प्रकृतिका भूकम्प लगातार गइरहेका छन्।
विसं २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि पनि लगातार जाजरकोटका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गइरहेका छन्।
आज वैशाख १२ गते। विसं २०७२ वैशाख १२ गते अर्थात् आजभन्दा ठिक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो।
७.६ म्याग्निच्युडको भूकम्पले ८ हजार ९७९ जनाले ज्यान गुमाएका थिए। भूकम्पमा परी २२ हजार ३०९ घाइते भए। सोही विनाशकारी भूकम्पको स्मृतिमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। सुरक्षित पूर्वाधार निर्माणका लागि सचेतना जगाउने उद्देश्यका साथ आज भूकम्प स्मृति दिवस मनाउन लागिएको हो।
काठमाडौँको सुन्धारामा अवस्थित धरहरा परिसरमा आज भूकम्प स्मृति दिवसको विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यता रहने छ।
गोर्खाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी काठमाडौंको वसन्तपुर र हनुमानढोका दरबार क्षेत्र भत्किए। भूकम्पले हनुमानढोका संरक्षित क्षेत्रमा रहेका ७३ सम्पदा, एउटा मूल चोक र चार वटा चोक गरी ९५ वटा सानाठूला सम्पदामा क्षति पुगेको थियो।
भूकम्पको १० वर्षमा काष्ठमण्डप, गद्दी बैठक, नौतले दरबार, विष्णु मन्दिर, त्रैलोक्य मन्दिर आदि पुनर्निर्माण सकिएको छ।
वसन्तपुर क्षेत्रको पुनर्निर्माणका लागि धेरै संघसंस्थाले सहयोग गरेका छन्। पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, प्रदेश सरकार, विदेशी दातृ निकाय, गुठी र उपभोक्ता समितिमार्फत पुनर्निर्माणको काम भएको हो।
तस्बिर : सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी


