काठमाडौँ- पर्साको सानोपाइला बचत सहकारीको रकम अपचलनको अभियोगमा रवि लामिछानेसँग ५ करोड बिगो मागदाबी गर्न सुझाव दिइएको छ। पर्सा प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएको प्रतिवेदनमा उक्त विषय उल्लेख भएको हो।
पर्सा प्रहरीका एसपी गौतम मिश्रका अनुसार रविसँगै सानो पाइला प्रकरणमा ४१ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ। ३० जना र ११ वटा संस्था/कम्पनीविरूद्ध मुद्दा चलाउन राय पेस गरिएको हो। लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशीलाई पनि प्रतिवादी बनाइएको छ।
यो प्रकरणमा प्रहरीले २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ बिगो मागदाबी गर्न सुझाव पेस गरेको छ। लामिछानेको हकमा ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ र जोशीको हकमा ३ करोड २४ लाख ३२ हजार ९९९ रुपैयाँ बिगो मागदाबी गरिएको छ।
जिबी राईले १० करोड ८१ लाख ५२ हजार ४६९ रुपैयाँ र कुमार रम्तेलले १५ करोड ५३ लाख ५३ हजार ३४६ रुपैयाँ हिनामिना गरेको प्रहरीको दाबी छ। लामिछाने, जोशी र रम्तेल पुर्पक्षका लागि कारागारमा छन्।
लामिछाने लगायतविरूद्ध यसअघि पोखराको सूर्यदर्शन सहकारी, चितवनको साहारा सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी र बुटवलको सुप्रिम सहकारीमा मुद्दा दर्ता भइसकेको छ। कास्की जिल्ला अदालतले लामिछानेसँग ६५ लाख, चितवन जिल्ला अदालतले ५४ लाख, काठमाडौं जिल्ला अदालतले ६० लाख र रूपन्देही जिल्ला अदालतले एक करोड धरौटी माग गरेको थियो। सबै जिल्ला अदालतमा धरौटी तिरेर लामिछाने पुर्पक्षका लागि छुटेका थिए।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले चैत २२ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।


