काठमाडौं– आजदेखि नेपाली नागरिकलाई अनागरिक बनाएर नक्कली शरणार्थी धन्धा चलाएको आशंकामा पक्राउ परेका १६ संदिग्धहरुको अदालतमा बयान सुरु हुने भएको छ।
न्यायाधीशसमक्ष प्रतिवादीहरुको बयान थालिने भएको हो। बुधबार नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो।
नक्कली शरणार्थी प्रकरणमा करोडौं कुम्ल्याएका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण, एमाले सचिव टोपबहादुर रायमाझी, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राईलगायतसँग आज न्यायाधीशले साविती बयान लिनेछन्।
यो प्रकरणमा मुछिएकाले झन्डै २९ करोड रुपैयाँ असुलेको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा औंल्याइएको छ । यो प्रकरणमा पक्राउ परेका १६ जनामाथि अदालतमा बयान लिन लागिएको हो। १४ जना भने फरार छन्।
उनीहरूविरुद्ध ठगी, सरकारी लिखत कीर्ते, राष्ट्रहितविरुद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ। न्यायाधीशको बयान सकिएपछि नक्कली शरणार्थी प्रकरणमा धन्धा चलाएकालाई थुनछेक वा धरौटीमा रिहा गर्ने आदेश आउनेछ।


