काठमाडौँ- सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनआकांक्षालाई सम्बोधन गर्न नसक्ने टिप्पणी सांसदहरूले गरेका छन्।
पूर्वप्रधानमन्त्री तथा पूर्वअर्थमन्त्रीसमेत रहेका डा बाबुराम भट्टराईले जनताको वर्तमान चाहनालाई सम्बोधन गर्न नसक्ने खालको नीति तथा कार्यक्रम सरकारले ल्याएको उल्लेख गरे।
यस्तै रास्वपाका सांसद शिशिर खनालले नीति तथा कार्यक्रमले पास मार्क्स पनि ल्याउन पनि नसकेको उल्लेख गरे। कुनै नयाँ कार्यक्रम नल्याइएको असफल भइसकेका कार्यक्रमलाई निरन्तरता मात्र दिएको उनको भनाइ थियो। पुराना र असफल कार्यक्रमको भद्रगोल चोरीचकारी नीति तथा कार्यक्रममा रहेको उनको भनाइ थियो।
यस्तै आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले जनआकांक्षामा चिसो पानी खन्याउने गरी नीति तथा कार्यक्रम ल्याएको उल्लेख गरे।
शिशिर खनालका अनुसार नीति तथा कार्यक्रममा भएको एक मात्र राम्रो पक्ष भनेको राष्ट्रपतिको स्वास्थ्यलाई मध्यनजर गरेर केही छोटो बनाउनुभन्दा कुनै राम्रो काम नभएको उनको जिकिर छ।
माओवादीका सांसद लेखनाथ दाहालले नीति कार्यक्रमले कमिसन कहाँबाट आउँछ भन्ने कुरा मात्र ध्यानमा राखेको आरोप लगाए।
पहिलेका नीति तथा कार्यक्रमहरू कार्यान्वयनमा नजाने भएपनि सुन्दा सम्म मजा आउने प्रकृतिका भएपनि यसपालिको नीति तथा कार्यक्रम त सुन्दा पनि पट्यारलाग्दो भएको उनको भनाइ थियो।
यसका साथै उनले डा बाबुराम भट्टराईले नीति तथा कार्यक्रम नसुनी टिप्पणी गरेको र नीति तथा कार्यक्रम सुन्न छोडेर निदाएको समेत उल्लेख गरे।


