दक्षिण अमेरिका र अन्टार्कटिकालाई छुट्याउने पानीको मुहान ड्रेक मार्गमा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ।
शुक्रबार गएको भूकम्पपछि चिलीका अधिकारीहरूले देशको दक्षिणी क्षेत्रमा सुनामीको चेतावनी जारी गरेका छन्।
अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस) का अनुसार भूकम्प अर्जेन्टिनाको टिएरा डेल फुएगो प्रान्तको उसुइया शहरबाट २१९ किलोमिटर र चिलीको प्यूर्टो विलियम्स शहरबाट २१९ किलोमिटर को दूरीमा १० किलोमिटर गहिराइमा गएको थियो।
‘कृपया सावधान रहनुहोला ! सुनामीको खतराका कारण म्यागालेन्स क्षेत्रको तटीय क्षेत्र खाली गरी सु्रक्षित स्थलमा जानुहोला,” चिलीको विपत् व्यवस्थापन निकाय सेनाप्रेडले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लेखेको छ।
राष्ट्रपति गेब्रियल बोरिकले आफ्नो एक्स अकाउन्टमा ‘म्यागालेन्स क्षेत्रभरि समुद्र तट खाली गर्न’ आह्वान गरेका छन्।
चिलीको नेसनल सिस्मोलोजिकल सेन्टरले ७.५ म्याग्निच्यूडभन्दा केही तल ७.४ म्याग्निच्युडको भूकम्प गएको बताएको छ।
दक्षिण अमेरिकाको दक्षिणी टुप्पोमा अवस्थित म्यागालेन्स क्षेत्र चिलीको दोस्रो ठूलो तर कम जनसङ्ख्या भएको क्षेत्र हो र यो अर्जेन्टिनाको टिएरा डेल फुएगो प्रान्तसँग जोडिएको छ।
अर्जेन्टिनाको टिएरा डेल फुएगोको गभर्नरको कार्यालयले भनेको छ, ‘भूकम्पको धक्का मुख्यतया उसुइया शहर र केही हदसम्म टिएरा प्रान्तका अन्य शहरहरूमा महसुस गरिएको थियो।‘
‘भूकम्पका कारण भौतिक क्षति वा मानिस प्रभावित भएको खबर तत्काल प्राप्त भएको छैन,’ विज्ञप्तिमा भनिएको छ।
चिली भूकम्पबाट सबैभन्दा बढी प्रभावित देशमध्ये एक हो। नाज्का, दक्षिण अमेरिकी, र अन्टार्कटिसहितका तीन टेक्टोनिक प्लेटहरू यसको क्षेत्रभित्र समाहित छन्।
सन् १९६० मा दक्षिणी शहर भाल्डिभियामा ९.५ म्याग्नेच्यूडको भूकम्प गएको थियो र यसका कारण कम्तीमा नौ हजार ५०० व्यक्तिको मृत्यु भएको थियो। उक्त भूकम्पलाई अहिलेसम्मकै सबैभन्दा शक्तिशाली मानिएको छ।
सन् २०१० मा चिलीको मध्य तटीय क्षेत्रमा गएको ८.८ म्याग्नेच्यूडको भूकम्पमा परी ५२० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। (रासस/एएफपी)


