काठमाडौँ- शिक्षक आन्दोलनका कारण १० दिनका लागि सरेको कक्षा १२ को परीक्षा आइतवार सुरु भएको हो।
शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा गराउने काममा सहभागी हुन नसकिने बताएपछि सरकारले सरकारले निजामती कर्मचारी खटाएर वैशाख ११ गते नै परीक्षा सञ्चालन गर्ने निर्णय वैशाख ८ गते मात्र गरेको थियो। तर पछि निजामती कर्मचारीले नै शिक्षक र कर्मचारी भिडाउन खोजिएको भन्दै त्यसको विरोध गरेपछि ९ गते राष्ट्रिय परीक्षा बोर्डले २१ गतेसम्मका लागि परीक्षा सारेको थियो।
आगामी जेठ २ सम्म सञ्चालन हुने परीक्षामा ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डका अनुसार यस वर्ष नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन्।
देशभरका ५ हजार २०२ विद्यालयका विद्यार्थी १२ कक्षाको परीक्षामा सहभागी हुँदैछन्। तर परीक्षा केन्द्र भने १ हजार ५९१ वटा मात्र तोकिएका छन्। परीक्षा सञ्चालनका लागि देशभरि ४८ हजार २०९ जनशक्ति खटिनेछन्।
देशभित्र मात्र नभएर जापानबाट ३८ जनाले कक्षा १२ को परीक्षा दिँदैछन्। जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थीले त्यहीँबाट परीक्षा दिने बोर्डले जनाएको छ।
यस वर्ष सबैभन्दा थोरै मनाङबाट ४५ जना विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन्। सबैभन्दा धेरै काठमाडौँबाट ६८ हजार १३३ जना परीक्षार्थी सहभागी हुँदैछन्।
परीक्षा सञ्चालनको लागि मनाङ र मुस्ताङमा १-१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। काठमाडौँमा १६२ वटा परीक्षा केन्द्र छन्।
यस वर्ष कर्णाली प्रदेशबाट ३८ हजार ८ सय ८८ र बागमती प्रदेशबाट १ लाख ३५ हजार २ सय ४० परीक्षार्थी छन्।
कोशी प्रदेशबाट ८२ हजार ८ सय ७१, मधेसबाट ६९ हजार ८ सय ८, गण्डकीबाट ४३ हजार ३ सय ४९, लुम्बिनीबाट ९० हजार ६ सय ७८ र सुदूरपश्चिमबाट ५० हजार ६ सय ५४ जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ।
परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्ष बाहेकलाई परीक्षा केन्द्रमा मोबाइल फोन लैजान बोर्डले रोक लगाएको छ। बोर्डले सूचना जारी गर्दै परीक्षा हलमा मोवाइल फोन, स्मार्ट घडी लगायत अन्य कुनै पनि प्रकारका इलेक्टोनिक्स डिभाइस लैजान रोक लागाइएको जनाएको छ।
काठमाडौँ कालोपुलस्थित जेभियर इन्टरनेसनलको परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा दिन पुगेका परीक्षार्थी।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


