हेटौंडा- वैशाख २४ गते बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ। प्रदेश सरकारले प्रदेश कामकाजी भाषा ऐन कार्यान्वयन भएको दिन वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
बागमती मन्त्रिपरिषदले निर्णय गत चैतमा नै गरेको हो। बागमतीले २०८२ सालमा संघ सरकारले दिनेभन्दा ४ दिन थप बिदा दिने निर्णय गरेको थियो।
सार्वजनिक बिदालाई क्यालेन्डरमा नै जनाउने गरी नेपाल सरकारले दिने बिदाबाहेक चार दिनको बिदा थप गरिएको हो।
यस्तै गाईजात्राको दिन साउन २५ गते, चेपाङ समुदायको न्वागी भदौ २२ गते र माझी समुदायको लदी पर्व फागुन १९ गते गरी चार दिन बिदा दिने निर्णय भइसकेको छ। यस सम्बन्धी सूचना बागमती सरकारले चैत २१ गते राजपत्रमा प्रकाशित गरेको छ।
ती बिदाहरू प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा लागू हुनेछ।


