दाङ – आर्थिक सहयोग जुटाएर तुलसीपुर उपमहानगरपालिका–४ स्थित एकाघरका चार दृष्टिविहीनलाई आवास निर्माण बनाउन थालिएको छ। तुलसीपुरका व्यवसायी यज्ञबहादुर केसीको संयोजकत्वमा निर्माण समिति गठन गरी सोमबारदेखि आवास निर्माण थालिएको हो। तेइस वर्षीय गणेश गन्धर्व, उनकी बहिनी गङ्गा, जमुना र मनिषा जन्मजात नै दृष्टिविहीन हुन् । मनिषा दृष्टिविहीनसँगै बहुअपाङ्ग हुन। सोह्र वर्षीया उनि हिँडडुल गर्न पनि सक्दिनन्।
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका गरायलाका आमा रुपा गन्धर्वसहित उनिहरु २०६८ सालमा दाङको तुलसीपुर झरेका थिए। रुपाले भनिन्, “सबै छोराछोरी दृष्टिविहीन जन्मिएपछि श्रीमानले अर्को विवाह गर्नुभयो ।” यसपछि रुपालाई श्रीमानले कुनै हेरचाह नै नगर्ने तथा घरबाट निकाला गरेपछि बिचल्ली अवस्थामा उनलाई उद्धार गरेर तुलसीपुरस्थित रक्षाचौर ल्याइएको थियो।
विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा उनिहरु दाङको तुलसीपुर आए पनि भाडाको घरमा बस्दै आएका छन्। “कहिले कसको घरमा भाडामा बस्यौँ, कहिले कसकोमा”, गणेशले भने, “लामो समय कसैले पनि बस्न दिएनन् ।” यसरी भाडामा बस्दा पनि पीडा झेलेका उनिहरुको अहिले आवास निर्माण हुन थालेपछि भने खुसी छन् । सारङ्गी बजाएर, गीत गाएर गणेशले आम्दानी गर्दथे। त्यसैले घरखर्च चल्ने गरेको थियो । अब घर बनेपछि भाडा तिर्नुनपर्ने हुँदा सहज हुने गणेशले बताए। “भाडा तिर्न पनि गाह्रो हुन्थ्यो, घर बनेपछि भने अब सहज हुने भयो”, उनले भने।
निर्माण भइरहेकाले लाग्ने सबै खर्च व्यहोर्ने गरी काम अघि बढाइरहेको उनले बताए। दृष्टिविहीन गणेशसहित गङ्गा, जमुना गुरुजजुर नमूना माविमा ब्रेललिपि मार्फत अध्ययन गर्छन्। हाल आमा रुपाको खातामा विभिन्न सङ्घसंस्थाको सहयोगमा रु सात लाख सहयोग सङ्कलन भएको थियो। त्यो रकम बैंकमा मुद्दति खातामा छ। त्यसबाट आउने मासिक ब्याजले पनि घर खर्च चलाउन सजिलो भएको जनाइएको छ।


