काठमाडौँ- राष्ट्रपति कार्यालयले टीकापुर घटनाका दोषी रेशम चौधरीलाई आममाफी दिनका लागि गरिएको सिफारिसलगायतका फाइल गृह मन्त्रालयमा फिर्ता पठाएको छ। अदालतले प्रतिपादन गरेको सिद्धान्त र प्रचलित कानुन विपरीत नहुने गरी गर्न भनेर फिर्ता पठाइएको राष्ट्रपति कार्यालय जानकारी दिएको छ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले रेशम चौधरीलाई आममाफी गर्नका लागि भनेर सरकारले पठाएको फाइल गृह मन्त्रालयमा फिर्ता पठाउने निर्णय भएको जानकारी दिए।
‘रेशम चौधरीको आममाफीका सम्बन्धमा प्रचलित कानुन, यससम्बन्धी अदालतबाट फैसला, सर्वोच्च अदालतद्धारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा फाइल फिर्ता गरेको छ,’ पोखरेलले भने, ‘साथमा टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा दिएको निवेदनलाई राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा कार्यार्थ पठाएको छ।’
चौधरीलाई आममाफी नदिन माग गर्दै टीकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा दर्ता गराएको निवेदनलाई पनि गृह मन्त्रालयमा कार्यार्थ पठाएको उनले जानकारी दिए।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भड्किएको हिंसामा आठ प्रहरी र एक नाबालकको ज्यान गएको थियो। उक्त घटनाका मुख्य दोषी ठहर भएका चौधरीलाई जिल्ला, उच्च र सर्वोच्च अदालतले जन्मकैदको सजाय सुनाएको छ।
सर्वोच्चको फैसलापछि चौधरीलाई आममाफी दिन सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। सरकारको सिफारिसतमा राष्ट्रपतिले गणतन्त्र दिवसका दिन आममाफी दिने प्रचलन छ।


