बेइजिङ- चिनियाँ विदेश मन्त्रालयले पाकिस्तानमाथि भारतले सुरु गरेको आक्रमणलाई ‘खेदजनक’ भनेको छ। भारत र पाकिस्तानबीच बढ्दो तनावको बारेमा सोधिएको प्रश्नको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले वर्तमान अवस्थाप्रति ‘चिन्तित’ रहेको बताएका हुन्।
चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘भारत र पाकिस्तान एकअर्काको छिमेकी हुन् र सधैं रहनेछन्। उनीहरू दुवै चीनका छिमेकी पनि हुन्। चीनले सबै प्रकारका आतंकवादको विरोध गर्दछ।’
मन्त्रालयका प्रवक्ताले दुवै देशलाई ‘शान्ति कायम राख्न, संयम अपनाउन र परिस्थितिलाई अझ जटिल बनाउन सक्ने कार्यहरूबाट बच्न’ अपिल गरे।
बुधबार बिहान भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले पत्रकार सम्मेलनमा भारतीय सशस्त्र बलले ६ मे २०२५ को राति १:०५ देखि १:३० बजेको बीचमा ‘अपरेसन सिन्दूर’ सुरु गरेको जानकारी दिएकी छन्। ‘यो अपरेशन अप्रिल २२ मा पहलगाममा भएको भयानक आतंकवादी हमलाको शिकार भएका निर्दोष नागरिकहरू र उनीहरूका परिवारहरूलाई न्याय प्रदान गर्न सुरु गरिएको थियो,’ उनले भने, ‘यस अपरेशनमा नौ आतंकवादी शिविरहरूलाई लक्षित गरी पूर्ण रूपमा ध्वस्त पारिएको थियो।’
पाकिस्तानी गोलीबारीमा परी भारततर्फ कम्तीमा १० सर्वसाधारणको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।
यी सबै घटना भारत प्रशासित जम्मु-कश्मीरको पुन्छ जिल्लामा भएको जनाइएको छ। भारतीय हवाई आक्रमणमा परी आफ्नो भूमिमा २६ सर्वसाधारणको मृत्यु र ४६ जना घाइते भएको पाकिस्तानको भनाइ छ।
पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीका अनुसार भारतीय हवाई आक्रमण र लगातारको तोपखानाबाट पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानमा मानवीय क्षति भएको हो।
यद्यपि भारतले आफ्ना हमलालाई ‘केन्द्रित, मापन गरिएको र गैर-उत्तेजक’ बताउँदै कुनै पनि नागरिक वा सैन्य प्रतिष्ठानलाई लक्षित नगरेको दाबी गरेको छ। भारतीय सेनाले हमलामा आतङ्कवादी पूर्वाधार मात्र निशाना बनाइएको बताएको छ।


