काठमाडौँ- विभिन्न मितिमा गएका भूकम्प र बाढीपहिरो पीडितको आवास निर्माणको कामलाई गति नदिँदा पीडितहरूको बिजोक हुने भएको छ। विपद्का घटना भएको लामो समयसम्म पनि सरकारले पुनर्स्थापनाका कार्यक्रमलाई तीव्रता नदिँदा आगामी वर्षाको समयमा पनि पीडितको आवास निर्माणको काम सम्पन्न नहुने भएको हो।
गृहमन्त्री रमेश लेखकले बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै पुनर्स्थापनाको विषयमा जानकारी गराएका हुन्। पश्चिम नेपालमा भूकम्पबाट भएको जनधनको क्षतिको राहत, पुर्नस्थापनाका कार्यहरुले पछिल्लो दिनमा प्राथमिकता दिएर तिव्रता दिइएको दाबी गरेपनि तथ्यांकले भने थुप्रै पीडितको अवस्था दयनीय रहेको देखाएको छ।
२०७९ कार्तिक २३ गते डोटी, २०८० असोज १६ गते बझाङमा र २०८० कार्तिक १७ गते राति जाजरकोट केन्द्र बिन्दु भई गएका भूकम्प र गतवर्ष असोजको बाढीपहिरोबाट भएको घरबारविहीन बन्न पुगेका थुप्रै पीडितलाई पुनर्स्थापना गर्न सरकार उदासीन देखिएको हो।
जाजरकोट भूकम्पको प्रभावित जिल्लामा क्षति आकलनको कार्य मात्र अघि बढेको उनको भनाइ छ। हालसम्म ३७ हजार ९ सय ३८ घरको क्षतिको विस्तृत आकलन सम्पन्न भएको उनको भनाइ छ। भूकम्पले ६० हजार घरमा क्षति पुगेको थियो।
अस्थायी आवास निर्माणका लागि जाजरकोटमा रु.१ अर्ब ९१ करोड ९१ लाख ७५ हजार, रुकुम पश्चिममा रू. १ अर्ब ६१ करोड २२ लाख, सल्यानमा रु. ७ करोड, बाजुरामा रु. १० करोड ५० लाख र बझाङमा रु. २५ करोड, जुम्लामा १ लाख ७५ हजार गरी हालसम्म जम्मा रु.३ अर्ब ९५ करोड ६५ लाख ५० हजार रकम उपलब्ध गराइएको र अन्य जिल्लाहरुमा पनि क्षतिको अवस्था अनुसार रकम उपलब्ध गराइ सकिएको उनको दाबी छ।
यसैगरी डोटी केन्द्रविन्दु भई गएको भूकम्पका कारण क्षति भएका ९ हजार ६८१ ( डडेल्धुरा– ८५, डोटी– १३६५, बझाङ्ग–१७४०, अछाम–५४४१ ) घरधुरिको पनि विस्तृत आकलन मात्र भएको छ। १ हजार ८५६ जनासँग मात्र घर निर्माण सम्झौता भएको छ। १३ हजार ५७६ घरधुरीको विस्तृत क्षति आकलन गर्नका लागि सुदूरपश्चिम विश्वविद्यालयसँग प्रस्ताव माग मात्र भएको छ।
त्यसैगरी गत असोजको मनसुनका कारण क्षति भएका निजी आवासको सम्बन्धमा संकटग्रस्त क्षेत्र घोषणा भएका २० जिल्लाका ६२५४ घरधुरी अस्थायी आवासका लाभग्राही कायम भएका छन् जानकारी दिए।
‘५ हजार ८६१ लाभग्राहीसँग सम्झौता भएको छ। ३ हजार ७५५ जना ले पहिलो किस्ता वापतको अस्थायी आवासको रकम रू. ९ करोड ३८ लाख ७५ हजार पाईसकेका छन्,’ गृहमन्त्री लेखकले भने, ‘काभ्रे जिल्लामा ५४९ घरधुरी विस्तृत क्षति आंकलन सम्पन्न भैसकेको छ। बाँकी घरधुरीका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट २ दिने तालिम प्रदान गरी प्राविधिक खटाउने तयारी भएको छ।’
वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमको विषयमा सरकार संवेदनशील रहेको उनले जिकिर गरे।


