काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भनाइलाई ट्रोल गरिएको भन्दै गुनासो गरेका छन्। वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गुनासो गरेका हुन्।
आफूले बाघको संख्या बढाउन पर्दैन भनेको तर त्यसलाई ट्रोल गरिएकोमा उनको गुनासो छ। बाघले मान्छेलाई आक्रमण गर्न थालेकाले बढाउन पर्दैनको भनेको तर वातावरण विरोधी भनेर आफ्नो विरोध भएकोमा उनको गुनासो छ।
‘मैले बाघको संख्या अब बढाउनु पर्दैन भन्दा वातावरणविरोधी भयो भनेर टिप्पणी पनि गरियो। बाघले कानुनको किताब पढेको हुँदैन। उसले भोक लागेर खाना नपाएपछि मान्छेलाई आक्रमण गर्छ। फोटाका बाघ हेरेर यसले केही गर्दैन भनेर हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले अन्तर्राष्ट्रिय प्रतिबद्धताबमोजिम दोब्बरभन्दा बढी संख्यामा बाघ बढाएका छौँ। वनको छेउमा बस्नेलाई यसको पीरमर्का थाहा छ। वातावरणको संरक्षण मानव जातिका लागि गर्ने हो। मानव जाति नै असुरक्षित भएर वातावरणको संरक्षण गर्न सकिँदैन।’
नेपालको सालघारी प्रकृतिको अनुपम उदाहरण भएकाले उमेर नपुगेसम्म साललाई व्यावसायिक उपयोगमा लान नहुने बताए। ‘हरियो वन नेपालको धनको नारा पुरानै भए पनि धनको रुपमा वनको सदुपयोग भएको थिएन। तर अहिले हामीले एउटा संकल्प लिएका छौँ, किन वनको विनाश हुन नदिएर सौर्यमण्डलको सार्थकताका लागि वन संरक्षण गरेर कसरी उपयोग गर्न सकिन्छ भनेर लागेका छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘वन क्षेत्रको संरक्षण हामीले बढाएका छौँ। अब यसको विस्तार गर्नमा भन्दा उत्पादनमा जानुपर्छ। वनको व्यावसायिक उपयोगका लागि हतार पनि नगर्ने र ढिलो पनि नगर्ने नीति लिनुपर्छ।’
प्रधानमन्त्री ओलीले आफूहरु प्राकृतिक र जीवनमय देशमा हुर्केको उल्लेख गर्दै यो विश्व वातावरणका लागि पनि योगदानको विषय भएकाले अब वन सबलीकरण गर्ने र बुट्यानहरुलाई पनि सघन वनमा रुपान्तरण गर्नुपर्नेमा जोड दिए।


