काठमाडौँ- नेपालकाे डिजिटल भुक्तानी नेटवर्क फोनपेले २१औं एसियन पेमेन्ट नेटवर्क (एपीएन) फोरमको आयोजना गरेको छ। काठमाडौंस्थित हिल्टन होटलमा मे ६ र ७ गते भएको कार्यक्रममा एसियाका १४ सदस्य राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
फोरममा डिजिटल भुक्तानीका प्रवृत्ति, सीमापार कारोबार तथा वित्तीय समावेशीताबारे छलफल गरिएको थियो। कार्यक्रमकै अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग एपीएन प्रतिनिधिहरूले भेटघाट पनि गरेका थिए।
यसैबिच फोनपेका प्रतिनिधि एपीएनको उपाध्यक्ष पदमा चयन भएका छन्। प्राविधिक उपसमितिको अध्यक्ष पद पनि फोनपेलाई प्रदान गरिएको छ।
एपीएनको नेतृत्वमा फिलिपिन्सको ‘ब्यांकनेट’ अध्यक्ष बनेको छ भने अन्य पदहरूमा विभिन्न देशका प्रतिनिधिहरू चयन भएका छन्। यसअन्तर्गत व्यापार उप-समितिको अध्यक्षमा इन्डोनेसियाको ‘रिन्टिस’ र उपाध्यक्षमा भियतनामको ‘नापास’ चयन भए।
प्राविधिक उप-समितिको उपाध्यक्षमा चीनको ‘युनियन पे’ चयन हुँदा जोखिम उप-समितिको अध्यक्षमा थाइल्याण्डको ‘एनआईटीएमएक्स’ र उपाध्यक्षमा इन्डोनेसियाको ‘आर्टाजासा’ चयन गरिए। मलेसियाको ‘पेनेट’ लाई आगामी कार्यकालका लागि लेखा परीक्षक र सिंगापुरको ‘नेटस्’ लाई कोषाध्यक्ष नियुक्त गरियो।
फोनपेका सीईओ दिवश कुमारले नेपालमा फोरम आयोजना हुनु डिजिटल भुक्तानी क्षेत्रमा नेपालको क्षमता र क्षेत्रीय सहकार्यको प्रतीक भएको बताए।
फोरममा सहभागीहरूबिच डिजिटल भुक्तानी प्रणाली सुदृढ पार्ने रणनीति, प्रविधिको प्रयोग र सुरक्षा व्यवस्थाका उत्कृष्ट अभ्यासहरूबारे छलफल भएको थियो।


