काठमाडौँ- नुवाकोटमा त्रिशूली नदीमा दुई बालिका बेपत्ता भएका छन्। मंगलबार साँझ नुहाउने क्रममा दुई बालिका नदीमा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।
बेपत्ता हुनेमा बेलकोटगढी नगरपालिकाका–७ की ११ वर्षीया जेनी डंगोल र ११ वर्षकै सदीक्षा रहेका छन्। उनीहरु बेलकोटगढी–७ कचौडेभिर भन्ने स्थाननजिकै नदीमा नुहाउन गएका थिए।
‘दुई बालिका त्रिशूलीमा बेपत्ता भएको जानकारी पाउना साथ हाम्रो टोली खोजीमा जुटेको छ। बिहानैबाट खोजी कार्य सुरु भइसकेको छ,’ रेग्मीले भने। सँगै गएका ९ वर्षीय बालकले दिदीहरू नदीमा बेपत्ता भएको खबर अभिभावकलाई गरेका थिए।
बेपत्ताहरुको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक वीरबहादुर तामाङको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन गरिएको छ।


