मोरङ- मोरङमा करेन्ट लागेर दुई वृद्धाको मृत्यु भएको छ। वैशाख ३० गते राति रतुवामाई नगरपालिका–३ मिर्चा डाँगी टोलमा विवाह घरमा नाचगान गरिरहेकी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईंको मृत्यु भएको हो।
स्थानीय मंगललाल सिंहका छोरा निरजकुमारको विवाहमा नाचगान गरिरहेका बेला ३ जनालाई करेन्ट लागेमा दुई जनाको मृत्यु भएको हो। ३० वर्षीया राधाकुमारी सिंह सामान्य घाइते भइन्।
बिहे घरमा माइक राख्नका लागि हाइटेन्स लाइन नजिकै हरियो बाँस गाडिएको थियो। गएराति करिब ८ बजे आएको हावाहुरीले बाँस ढलेर हाइटेन्सन लाइनमा ठोक्किएको थियो। यसपछि बिहे घरमा रहेका तीन जनालाई करेन्ट लागेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।
करेन्ट लागेर गम्भीर घाइते दुई जनालाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो। अस्पतालमा पुर्याउनासाथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।
राधाकुमारी सिंह भने नगर अस्पताल झुर्कियामा उपचारपछि घर फर्किएकी छन्।


