काठमाडौँ- मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ। यसअघिको बनेको समितिबाट डा विश्व पौडेलले राजीनामा दिएपछि पुनर्गठन गर्ने निर्णय गरिएको हो।
पुनर्गठन गरिएको समिति सदस्यमा अर्थविद् डा पोषराज पाण्डे नियुक्त भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
सिफारिस समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी यसअघि नै सदस्य बनेका थिए।
अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति बनेको हो।
यो समितिले यसअघि यही समितिका सदस्य रहेका डा विश्व पौडेलसहित तीन जनालाई गभर्नर बनाउन सिफारिस गर्नेछ।
तीमध्ये डा पौडेललाई गभर्नर बनाउने यसअघि नै कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सहमति बनिसकेको छ।
एक महिनासम्म एउटा बैठकसमेत बस्न नसकेको र आफू सदस्य रहेको समितिलाई ओली र देउवाले सिफारिस गरेका व्यक्तिलाई नै राख्नुपर्ने स्थिति भएको भन्दै पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका थिए।
चैत ११ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो।
चैत २४ गते तत्कालीन गभर्नर रहेका (हालका सिफारिस समिति सदस्य) महाप्रसाद अधिकारीको कार्यकाल सकिनुभन्दा एक महिना अगावै नाम सार्वजनिक गर्नुपर्ने भएपनि ओली र देउवाको लडाइँले हालसम्म गभर्नर नियुक्त हुन सकेको छैन।


