तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठविरुद्ध ज्यान मार्ने उद्योगको कसुर गरेको आरोप लागेको छ। भीमाद नगरपालिका-६ बस्ने ५७ वर्षीय प्रभात आलेले हुलाकमार्फत पठाएको जाहेरी प्रहरीले दर्ता गरी अनुसन्धान थालेको हो।
फागुन १३ गते प्रभात आफैं इलाका प्रहरी कार्यालय बेलचौतारा पुगेर जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले राजनीतिक दबाबका कारण दर्ता नगरेपछि उनले हुलाकमार्फत जाहेरी पठाएका थिए।
आलेले पछि वैशाख १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला सरकारी वकिलको कार्यालयलाई हुलाकमार्फत जोहेरी पठाएका थिए। वैशाख २२ गते जिल्ला प्रहरी कार्यालयमा जोहरी पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी अशोक थापाले कागज गर्नेलगायतको प्रक्रिया भइरहेको बताए।
फागुन ७ गते राति श्रेष्ठले आफूमाथि कुटपिट गरेको आलेको भनाइ छ। आलेले नेपाली कांग्रेस तनहुँका उपसभापतिसमेत रहेका गाउँपालिका अध्यक्ष श्रेष्ठले भीमाद नगरपालिका-६ मालेबगर पुरानो स्कुलस्थित आफ्नै घरमा पुगेर आफूमाथि कुटपिट गरेको आरोप लगाएका छन्।
कुटाइ खाएका आले २०१५ सालमा निर्वाचित सांसद स्वर्गीय पदमबहादुर आलेका छोरा हुन्। प्रभातका दाई जीतप्रकाश आले हाल गण्डकी प्रदेश सभा सदस्य छन्।
जाहेरी दिएका आलेका अनुसार भाइ विलासको जग्गा राजेन्द्रकृष्णले किनेर प्लटिङ गरेर बिक्री गरेका थिए। ७ वर्ष पहिले किनबेच भएको जग्गाको बाटो छोड्ने सहमति थियो। सहमति कार्यन्वयन नभएपछि विवाद सुरु भयो।
विवाद टुंग्याउन खोज्दा आफूमाथि कुटेको उनका आरोप छ।


